जनता टाइम्स

२ पुष २०७९, शनिबार १२:००

शोभिता गौतमलाई मोहनाको प्रश्नः बलात्कार महिलाको शरीर सद्धे हुन्छ ?


काठमाडौं, २ पुस । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतमले बलात्कारलाई सामान्य घटना भनी टिप्पणी गरेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले कडा आपत्ति जनाउनुभएको छ ।

महिला अधिकारको क्षेत्रमा सक्रिय अन्सारीले यस्ता व्यक्तिहरु संसद भवनमा छिरेपछि बालबालिकाहरुको भविष्य के होला भन्ने प्रश्न गर्नुभएको छ । ‘बलात्कार सामान्य हो, तर खुट्टा काटिनु ठूलै रहेछ । बलात्कृतको शरीर सद्दे हुन्छ ? बलात्कार हुनु सामान्य हो भन्ने सासंद केही दिनमा संसद् प्रवेश गर्दै छिन्’, ‘अन्सारीले सोभिताको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै लेख्नुभएको छ, ‘सोच्नुस् कस्तो भविष्य हुने छ बालिकाको ? न्यायको माग गर्नु डलर ल्याउनु रहेछ ।’

काठमाण्डु–२ बाट सांसद निर्वाचित गौतमले बलात्कार सामान्य घटना भए पनि समाजले ठूलो बनाएको र त्यसका नाममा डलर ल्याउनेहरुले ठूलो बनाएको भन्ने अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।