काठमाडौं, २ पुस । स्पार्क हेल्थ होम अस्पिटलमा बाग्लुङ समाज कल्याण केन्द्र काठमाडौंद्धारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आज कालिमाटीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा पुगेर एक सय ४५ जना विरामीले सेवा लिनुभएको छ । शिविरमा हाडजोर्नी नशाको १९ जना बिरामीको उपचार भएको छ भने १८ जनाको जनरल फिजिसियन सेवा गरेको छ ।
निःशुल्क शिविरमा आँखा परीक्षण र शल्यक्रिया, दाँत तथा मुख जाँच, फिजियोथेरापी सेवा र प्राकृतिक चिकित्सा सेवा सञ्चालन गरेको थियो । दाँत तथा मुखको जाँच ३० जनाले गर्नुभएको थियो भने ४४ जनाले आँखाको जाँच गराउनुभएको थियो । त्यस्तै फिजियोथेरापी र प्राकृतिक चिकित्सा सेवा १७/१७ जनाले लिनुभएको थियो ।
अस्पतालका निर्देशक रुपेश अधिकारीका अनुसार बाग्लुङ समाज कल्याण केन्द्र काठमाडौंको आयोजनामा भएको निःशुल्क एक दिने स्वास्थ्य शिविरमा हाडजोर्नी नशा, जनरल फिजिसियन, आँखा, दाँतका विशेषज्ञहरुले सेवा दिनुभएको थियो । त्यस्तै डा. अनिलकुमार महतोले फिजियोथेरापीको सेवा दिनुभयो भने डा. गिता केसीसहित १५ जना प्राविधिकहरूले प्राकृतिक चिकित्साको सेवा दिनुभएको उहाँले बताउनुभयो ।
अधिकारीले शिविरमा प्याथोलोजी ल्याव, एक्स–रे, इको, भिडियो एक्स–रेलगायत सेवामा विशेष छुटको व्यवस्था समेत गरिएको जानकारी दिनुभयो । बाग्लुङ समाज कल्याण केन्द्रका अध्यक्ष रसुमिला श्रेष्ठले शिविरमा सुगर र पिसाव जाँच पनि निःशुल्क गरिएको बताउनुभयो । उहाँले उक्त शिविरमा १४५ जनाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्