जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार ०७:२९

पठाओले थाल्यो ट्याक्सी सेवा, आवद्ध नहुन ट्याक्सी व्यवसायीको ‘ह्विप’


काठमाडौं, साउन २५ । दुइपांग्रे सवारीबाट यातायात सेवा दिएरहेको पठाओले शुक्रवारबाट ट्याक्सी सेवा सुरु गरेको छ। पठाओको ट्याक्सी सेवा सुरु भएसँगै ट्याक्सी व्यवसायी भने निकै आक्रोसित बनेका छन्।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले पठाओमा आवद्ध नहुन फेसबुकदेखि अन्य सामाजिक सञ्जालमार्फत ह्विप जारी गरेको छ । पठाओले ललाई फकाई ट्याक्सी चालकलाई आवद्ध गराउने र पछि प्राइभेट ट्याक्सीलाई पनि आवद्ध गराउने उदेश्यले यो सेवा सुरु गरेको ट्याक्सी चालक समाजका केन्द्रीय सदस्य विष्णु चौहान बताउँछन ।

‘हामी यात्रुसगँ सहमतीमा जाँदा ट्राफिकले ‘हाउमच’ अभियान चलाउछ तर उनीहरुले सरकारले तोकेको भन्दा १ सय रुपैयाँ धेरै लिन्छन् र मिटरमा जादैनन,’ चौहानले भने । पठाओले गुणस्तर तथा नापतौल विभागलाई ठाडो चुनौती दिएको ट्याक्सी चालक समाजको आरोप छ ।

पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमाल भने १ सय रुपैयाँ भाडा नभई सेवा शुल्क भएको बताउछिन्।‘ हाम्रो एपमार्फत ३ किलोमिटर टाढाको ट्याक्सीलाई बोलाउन सकिन्छ। चालकले मोबाइल डाटाबाट एप चलाउनु पर्यो, फोन गर्नु पर्यो, जानुपर्यो, त्यसैले यो शुल्क राखिएको हो,’ हमाल भन्छिन ।

यात्रुबाट लिइने सेवा शुल्क धेरै जसो चालकले पाउने हमालले बताइन्। त्यस्तै पठाओले नेपाल सरकारले तोकेको भाडामै किलोमिटर अनुसार सेवा दिइरहेको उनको भनाई छ । हमालका अनुसार अहिलेसम्म पठाओको ट्याक्सी सेवामा ३ सय भन्दा धेरै ट्याक्सी आवद्ध भइसकेका छन ।