जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार १०:०७

सरकारी जग्गा हडपेर कांग्रेसले तीन तले भवन बनाएको खुलासा, २१ बर्षदेखि गरिरहेछ ब्यापार


काठमाडौं, साउन २५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारी जग्गामा भवन बनाएर ‘व्यापार’ गरिरहेको तथ्य सार्वजनिक भएको छ । कांग्रेसले आफ्नो भातृ संगठन नेपाल शिक्षक संघको नाममा सरकारी जग्गामा तीन तले भवन बनाएर २१ वर्षदेखि ब्यापार गर्नुका साथै भाडा उठाउँदै आएको हो ।

काठमाडौ महानगरपालिका–४ धूम्बराहीमा रहेको कित्ता नं ८० को २ रोपनी १५ आना जग्गामा कांग्रेसले बिगत २१ वर्षदेखि भवन निर्माण गरेर भाडामा लगाएको पाइएको छ । हाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय रहेको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानसँगै रहेको २ रोपनी १५ आना जग्गामा शिक्षक संघ नेपालको नाममा भवन रहेको छ । सरकारी जग्गामा रहेको सो भवनलाई कांग्रेसले आफ्नो आय आर्जनको माध्यम बनाएको हो ।

यो भवनको दोस्रो तलमा ‘हेभी इक्युमेन्ट’ बिक्री वितरण गर्ने नीजि कम्पनी ‘एक्सन कन्स्ट्रक्सन इक्युमेन्ट’ लिमिटेड भाडा तिरेर अफिस राखेको छ । यसअघि पनि यो भवनमा बिभिन्न नीजि कम्पनीहरुले भाडामा प्रयोग गरेका थिए । पहिलो तलमा भने सर्बसाधरणहरुलाई भाडामा दिइएको छ । संघले कर्मचारीहरु राखेको दाबी गरेपनि त्यहाँ भाडा तिरेर बसिरहेका छन । निशुल्क भनिएको मात्रै हो, भाडा तिरेर बस्ने गरिएको एक कर्मचारीले बताए । तेश्रो तलमा भने शिक्षक संघको कार्यालय राखिएको छ ।

प्रतिष्ठान स्थापनाका लागि २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारले धूम्बाराहीको सरकारी जग्गा उपलब्ध गराएको थियो । प्रतिष्ठानको अध्यक्ष सभामुख तथा कांग्रेसका नेता दमनाथ ढुङ्गाना भएपछि त्यही मध्येको करिब आधा जग्गा उनले कांग्रेसलाई भोगचलन गर्ने गरी मिलाएर दिएका थिए ।

हाल पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको नाममा भने ३ रोपनी ७ आना २ पैसा रहेको छ । बाँकी जग्गा ढुङ्गानाले २०५५ सालमा कांग्रेसलाई भोगचलन गर्ने गरी दिएका हुन् । पार्टीको नाममा सरकारी जग्गा भोगचलन गर्न अप्ठ्यारो भएपछि कांग्रेसले सजिलोका लागि आफ्नो शिक्षक संघको नाममा राखेर हडपेको छ । ‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१’ अनुसार भोगाधिकार प्राप्त संस्थाले तेस्रो पक्षलाई सरकारी जग्गा दिन नहुने नहुने प्राबधान छ । शिक्षक संघले पनि त्यस बिपरित तेश्रो पक्षलाई दिएर भाडा असुली गर्दै आएको छ ।

कांग्रेसले गत विहिबार पत्रकार सम्मेलन गरेर पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको सरकारी जग्गामा नेकपाले कार्यालय राखेका भन्दै नैतिकतालाई नीति, नियम र नैतिकतालाई थप लज्जित बनाएको आरोप लगाएको छ । तर, त्यो सँगै रहेको जग्गाको बारेमा भने उसले केही भनेको छैन । सँगै जोडिएको जग्गाको बारेमा नबोली उसले भनेको छ, ‘सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ ।’

बिगत २१ बर्षदेखि कांग्रेसले सरकारी जग्गा हडपेर बसेको तथ्य बाहिर आएपछि भने कांग्रेस चुपचाप बसेको छ । सरकारी जग्गा हडपेर ब्यवसाय गर्दै आएको कांग्रेसले यस बिषयमा मुख खोल्नसमेत सकेको छैन । कांग्रेसले सरकारी जग्गामा ब्यापार गर्दे आएको तथ्य बाहिर आइसकेको छ, यस्तो कामका लागि क्षमायाचनासहित सरकारी जग्गा छाडनु पर्छ, नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जनताटाइम्ससँग भन्नुभयो ।