जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार १२:१६

कार्यबहाक प्रधानमन्त्री पोखरेलको घोषणा : अप्ठ्याराहरु चिर्दै सरकारले परिणाममुखी काम गर्छ


सार्वजनिक सम्पत्ति हिनामिना गर्ने जोकोही भएपनि छुट नदिन निर्देशन

काठमाडौं, साउन २५ । कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेलले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने अभियानमा जुटन सवै जनप्रतिनिधिलाई अपिल गर्नुभएको छ । बुढानिलकण्ठ नपा १२ कपनमा आज आयोजित मनमोहन जेष्ठ नागरिक केन्द्रको समुदघाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै रक्षामन्त्रीसमेत रहनुभएका कार्यबहाक प्रधानमन्त्री पोखरेलले सो अपिल गर्नुभएको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा गर्ने काम सरकारको मात्रै होइन, सवै नागरिकको कर्तब्य र दायित्व हो, यस्तो काम गर्नेलाई जोकोही भएपनि छुट दिनुहुन्न,’ पोखरेलले भन्नुभयो । उहाँले सार्वजनिक सम्पत्ति हडप्ने, कब्जा गर्ने र नक्कली कागजात बनाउने प्रबृति निकै बढेको भन्दै उहाँले अव सवै जनप्रतिनिधि र जनता सार्वजनिक सम्पत्ति रक्षामा दृढताका साथ लाग्नुपर्ने बताउनु भयो ।

‘सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सवैको कर्तब्य हो । यो सम्पत्ति सवै नागरिकले उपभोग गर्न पाउनुपर्छ । जहाँ–जहाँ खाली ठाउँ छ, त्यहाँ संरचना बनाइ हाल्ने कुरामा चाँहि सोच्नुपर्छ,’ पोखरेलले भन्नुभयो, ‘जहाँ खाली देख्यो, घर बनाउने, मन्दिर बनाउने गर्नुहुन्छ । पुराना मन्दिरको संरक्षण गरौं, भत्कन नदिउ, जहाँ खाली ठाउँदेख्यो, मासेर केही न केही बनाइ हाल्ने कुरा उचित होइन ।’

कार्यबहाक प्धानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सार्नुभएको समृद्ध नेपाल : सुखी नेपालीको नाराभित्र सार्वजनिक सम्पत्तिको रक्षा पनि रहेको प्रष्ट पार्नुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनु पर्छ । त्यो भनेको देशलाई धनी बनाउने र जनतालाई सखी बनाउने कुरा हो । जनतालाई सुखी बनाउन समृद्ध नेपालको कुरा अघि सारिएको हो । अव राम्रो संस्कार र संस्कृतिले पनि सम्पन्न बनाउनु पर्छ ,’ पोखरेलले भन्नुभयो, ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्न सिकाउनु पर्छ, सार्वजनिक सम्पत्ति कब्जा गरिहाल्ने, नक्कली कागज बनाइ हाल्ने काम अव रोक्नुपर्छ । त्यो कामको अगुवाई जननिर्वाचित साथीहरुले गर्नुपर्छ ।’

उहाँले गरिव जनताको हितलाई केन्द्रमा राखेर बर्तमान सरकारले काम गर्ने घोषणा पनि गर्नुभयो । सो अवसरमा उहाँले नेकपाका नेता मनमोहन अधिकारी नेतृत्वको सरकारले देशलाई धनी बनाउन सवैलाई माया गर्न सिकाउनु भएको र उहाँकै योगदानका कारण जेष्ठ नागरिक सम्मानित भएर बाँच्ने अवस्था सिर्जना गरेको बताउनु भयो । पोखरेलले मनमोहनको पार्टी नै अहिले सरकारमा रहेकोले सवै नागरिकमा खुसी ल्याउन काम गर्ने बताउनु भयो ।

‘सवै समस्या हटाएर देशलाई धनी बनाउने अनि जनतालाई सुखी बनाउने काम बर्तमान सरकारले गर्छ, केही अप्ठ्याराहरु छन, तर कम्युनिस्ट पार्टी नेतृत्वको यो सरकारले ती सवै अप्ठ्याराहरुलाई चिर्दै देश र गरिव जनताको हितमा काम गर्छ, म यो बिश्वास दिलाउनु चाहन्छु,’ पोखरेलले भन्नुभयो ।