जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार १४:१३

गजलमा नाचिरहेका युवाको कम्मरमा पेस्तोल देखेपछि…


मोरङ, साउन २५ । विराटनगरका खाद्यान्न व्यापारी जितु भनिने जितेन्द्र रायको हत्या गर्न भारतबाट सार्पसुटर झिकाइएको तथ्य खुलेको छ । ब्यापारी हत्या गर्न आएका सार्पसुटर पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो । ब्यापारी रायको अत्या गर्न आएको सार्पसुटरलाई मोरङ प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार रायको हत्याका लागि भारतीय सार्पसुटर कुनालकुमार सिंह नेपाल आएका थिए । उनीसहित पाँच जना मिलेर रायको हत्या गर्ने योजना बनाएको सुचना पाएपछि पक्राउ गरी शुक्रबार नै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै मुद्दा दर्ता गरेको हो ।

भारत सितामढी थान बैरगानिया ग्राम पञ्चायतका २२ वर्षीय सिंहसहित अन्य चारविरुद्ध संगठित रूपमा हातहतियार खरखजनासहित आपराधिक षडयन्त्र उद्योग’ मा मुद्दा दर्ता गरिएको मोरङ प्रहरीले जनाएको छ । ब्यापारी हत्यामा संलग्न रहेका अन्यमा विराटनगर महानगरपालिका– ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झा, मोरङको कटहरी गाउँपालिका–५ का ४३ वर्षीय मन्नुकुमार साह रौनियार र महोत्तरी जलेश्वर नगरपालिका–४ का २५ वर्षीय टिंकुकुमार झा रहेका छन ।

मुद्दा दर्ता गरिएकामध्ये मुन्नुकुमार साह रौनियार र टिंकुकुमार झा फरार छन । उनीहरुलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । अरु तीन जना यस अघि नै पक्राउ परिसकेका छन । मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार पक्राउ परेका मुख्य अभियुक्त गुप्ताले पाँच लाख भारतीय रुपैयाँको सुपारी दिएर विराटनगरमा खाद्यान्नको कारोवार गर्ने व्यापारी रायलाई हत्या गर्न सार्पसुटर ल्याएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले सिंहलाई गत जेठ २७ गते २ थान पेस्तोल र ७ राउण्ड गोलीसहित विराटनगरस्थित एक होटलबाट पक्राउ गरेको थियो । पुरानो लेनदेन र रिसईबीका कारण गुप्ताले व्यापारी रायको हत्या योजना बनाएको अनुसन्धानको क्रममा खुलेको छ ।

पक्राउ परेका गुप्ता जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । जवरजस्ती करणी मुद्दामा रायले फसाएका कारण हत्याको योजना बनाएको बयान उनले प्रहरीसमक्ष दिएका छन । झा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेका व्यक्ति हुन् । पुरानो रिसाईबीलाई लिएर गुप्ताले व्यापारी रायको हत्या गर्ने योजना झालाई सुनाएपछि झाले भारतबाट सार्पसुटर झिकाएको अदालतमा दर्ता गरिएको अभियोगपत्रमा उल्लेख छ । गुप्ता पनि खाद्यान्नको कारोबार गर्ने विराटनगरका व्यापारी हुन् ।

एसपी अधिकारीले दिनुभएको जानकारी अनुसार व्यापारी राय हत्याको योजना भारतको सितामढीमा बनेको थियो । रायको हत्या योजनासबैभन्दा पहिला सर्लाहीका हरिनारायण झालाई अभियुक्त गुप्ताले सुनाएका थिए । सुनसरीस्थित झुम्का कारागारमा रहँदा झा र गुप्ताको चिनजान थियो । सोही आधारमा उनले सो योजना सुनाएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार भारू पाँच लाख रूपैयाँ दिने हो भने सार्पसुटर झिकाएर काम फत्ते गरिदिने बचन झाले गुप्तालाई दिए । गुप्ता पाँच लाख दिन तयार भए । त्यही योजना अनुसार नै हत्या गर्नकै लागि सार्पसुटर नेपालमा झिकाएको अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाई छ ।

हत्याको योजना बनेपछि २ थान पेस्तोल र ७ राउण्ड गोली लिएर सार्पसुटर कुनाल कुमार सिंह नेपाल आए । उनलाई कटहरीका मन्नुकुमार साह रौनियारले सहयोग गरेको प्रहरीले जनाएको छ । सिंह जेठ २६ गते बिहान सितामढीबाट नेपालको गौर आएका थिए । सोही दिन बस चढेर साँझ विराटनगर बसपार्कमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार होटलमा बसेपछि भोलिपल्ट जेठ २७ गते बिहान ६ बजे व्यापारी रायको हत्या गर्न भन्दै उनी पुगेका थिए । त्यसदिन व्यापारी राय घरमा नभेटिएपछि पुनः होटलमा फर्किएर उनीहरू गजलमा रमाइरहेको बेला सार्पसुटर कुनालको कम्मरमा भिरेको अवस्थामा पेस्तोल देखिएको भन्दै होटलका कर्मचारीले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीको टोलीले पेस्तोलसहित उनलाई पक्राउ परेपछि रौनियार भने त्यहींबाट फरार भएका हुन् ।