जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार १५:३६

पूर्वराजावादीलाई प्रचण्डको चेतावनी : इतिहास उल्ट्याउन लाग्ने सबैलाई फोहोरको थुप्रोमा मिल्क्याइन्छ


काठमाडौं, साउन २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने ठोकुवा गर्नुभएको छ । संघीयता र गणतन्त्रकैबिरुद्ध बिषबमन भइरहेको बेला शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपलब्धी उल्ट्याउन लागेकाहरुप्रति कडा प्रहार गर्नुभयो ।

‘जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन,’ प्रचण्डले भन्नुभयो, ‘इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्क्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।’ उहाँले नागरिकमा आएको राजनीतिक तथा सामाजिक जागरणसहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने तथ्यसमेत राख्नुभयो ।

परिर्वतन निरन्तर अगाडि बढिरहने तर पछाडि फर्किन नसक्ने तथ्य औल्याउँदै अध्यक्ष प्रचण्डले परिवर्तनबिरुद्ध लाग्नेहरुलाई जनताले नै ठेगान लगाइ दिने बताउनु भयो । ‘इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहोरको थुप्रोमा मिल्क्याइन्छन, अव पनि त्यही हुनेछ,’ प्रचण्डको भनाई थियो ।

प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको तथ्य पनि उहाँले राख्नुभयो । पुराना सोच, संरचना, मूल्यमान्यतालाई व्यवहारतः विस्थापित गरी नयाँ सोच, मूल्यमान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतन पक्षधरहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनु भयो ।

सो क्रममा मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीतिअनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठूलो भूमिका रहेको भन्दै प्रभावकारी भूमिका निर्वाहका लागि उहाँले सवैलाई आग्रह पनि गर्नुभयो ।