जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार १६:३३

सञ्चारमन्त्री बाँस्कोटाको प्रश्न : घरको फोहर बाटोमा ल्याएर फाल्ने अनि सरकारलाई गाली गर्ने ?


भक्तपुर, साउन २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वातावरण नजोगाए अव मानिस नै डाइनोसरको अवस्थामा पुग्ने भन्दै सवैलाई सचेत गराउनुभएको छ । सूर्यबिनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सो धारणा राख्नुभएको हो ।

उहाँले मानवकै कारण मानिस डाइनोसर जस्तै लोप हुने अवस्थामा पुग्नसक्ने खतरा रहेको बताउनुभयो । ‘ठूला औद्योगिकरणको प्रत्यक्ष असर हिमाललाई परिरहेको छ, वातावरण प्रदूषण बढिरहेको छ, अव मानिस डाइनोसर हुने कि नहुने ?’ मन्त्री बाँसकोटाको भनाई थियो । विकास पृथ्वी र मावनजातीको हितका लागि भएकाले रुख रोप्ने, वातावरण जोगाउने, हिमाल जोगाउने अभियानमा नलागे मानव जीवनमा ठूलो संकट आउने उहाँको भनाइ थियो ।

उहाँले ठूला औद्योगिकरणको असरले हिमाल पग्लिएर नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलाईसमेत निकै असर गरिसकेकाले सबै मिलेर वातावरण जोगाउन अग्रसर हुनुपर्ने बताउनुभयो । मानिसमा आफूले गल्ती गर्ने र दोष सरकारलाई दिने प्रवृत्ति बढेको भन्दै बाँस्कोटाले पहिला आफू सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो । ‘मान्छे आफू बाटो मिच्छ, बाटो फराकिलो पार्न परे अलिकति जग्गा दिन मान्दैन, अनि बाटो भएन भनेर सरकालाई गाली गर्छ, मानिस आफ्नो घरको फोहर बाटोमा ल्याएर फाल्छ, अनि फोहर भो भनेर सरकारलाई गाली गर्छ, यस्तो प्रवृत्तिबाट मानिस अव माथि उठ्नुपर्छ,’ सञ्चारमन्त्री बाँस्कोटाको भनाई थियो ।

मुस्ताङको स्याऊ फालेर काश्मिरी स्याउ खोज्ने प्रवृत्ति अब अन्त्य गर्दै फलफूलमा पनि आत्मानिर्भर हुनुपर्नेमा जोड दिँदै उहाँले सडकको दायाँबायाँ पनि फलफूलका बिरुवा रोप्न सकिने बताउनुभयो ।