जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार २१:२९

ब्राउन सुगरसहित समातीय नेपाली सेनाका मेजर


इटहरी, साउन २५ । नेपाली सेनाका मेजर अजित प्रताप सिंह अबैध लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीको टोलीले नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी छेउबाट मेजर सिंहलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत मेजर सिंहको साथबाट डेढ ग्राम ब्राउन सुगरसमेत बरामद भएको छ। उनीबाहेक थप दुईजना पक्राउ परेपनि उनीहरुको संलग्नताबारे छानबिन भइरहेको प्रहरीले बताएको छ। सिंह भने लामो समयदेखि कारोबारमा संलग्न रहेको बताइएको छ।

सिंह नेपाली सेनाका अधिकारी भएपनि प्रहरीले भने उक्त विषय खुलाएको छैन। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले लागु औषधसहित सिंहलाई पक्राउ गरिएको स्वीकार गरेपनि केही बताउन चाहनुभएन । सिंहको अरु संलग्नता अहिले नभनौं,’ खरेलले भन्नुभयो । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।