जनता टाइम्स

१० पुष २०७९, आईतवार १२:५६

गठबन्धन टुट्न सक्ने प्रचण्ड सचिवालयको संकेत


काठमाडौं, १० पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सत्ता गठबन्धन टुट्न सक्ने संकेत गरेको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आज सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् । उहाँले राजनीतिमा आफू कमजोर हुँदा एउटा सहमति र माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडि हाल्ने खराब प्रवृत्ति हाबी भएको समेत बताउनुभएको छ ।

उहाँले लेख्नुभयो‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ ।’ उहाँले पछिल्लो घटनाक्रमले इतिहासको फेरि दुखान्त पुनरावृत्ति देखाएको औंल्याउँदै गठबन्धन विघटनतर्फ अघि बढेको संकेत गर्नुभएको हो ।