जनता टाइम्स

१० पुष २०७९, आईतवार १५:२७

सिके राउत पनि पुगे बालकोट


काठमाडौं, पुस १० । जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ । नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गर्नुभएको हो ।

राउतलाई बालकोटबाटै बैठकमा सहभागी हुन दलका नेताहरूले आग्रह गरेका थिए । त्यसपछि उहाँ बालकोट पुग्नुभएको हो । राउत नेतृत्वको जनमत पार्टीसँग प्रतिनिधिसभामा ६ सांसद छन् ।

बालकोटमा एमालेसहित माओवादी, राप्रपा, रास्वपाका अध्यक्षहरुबीच छलफल जारी छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको छ । दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् ।

हाल प्रतिनिधिसभा (२७३)मा सरकार गठनकालागि १३७ सिट आवश्यक पर्छ । कांग्रेस ८९ लाई बाहिर राखेर एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४ र जनमत पार्टी ६ सिट मिल्दा १५० सिट पुग्छ । त्यसमा जसपा र नेकपा एकीकृत समाजवादी थपिए १७२ सिट पुग्नेछ । कांग्रेसलाई बाहिर राखेर सरकार गठन गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले पाँच दलको गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेर सरकार निर्माणको प्रयास थाल्नुभएका हो ।