जनता टाइम्स

१० पुष २०७९, आईतवार २२:१६

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनबाट बधाई तथा शुभकामना


काठमाडौं १० पुस । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शपथ लिनुअघि नै दुवै छिमेकी देशले बधाई दिएका छन् । प्रचण्डलाई नेपालस्थित चिनियाँ राजदूतावास र भारतीय राजदूतावासबाट बधाई आएको हो ।

प्रचण्डलाई नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रचण्डले प्रधानमन्त्रीको रुपमा सोमबार अपराह्न ४ बजे शीतल निवासमा शपथ लिने छन् । ‘चीनले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई दिन चाहन्छु भन्दै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने अपेक्षा गरेको छ,’ सचिवालयका एक सदस्यले भन्नुभयो । ती सदस्यका अनुसार भारतका राजदूत श्रीवास्तवले पनि प्रचण्डलाई बधाई दिँदै दुई मुलुक बीचको सम्बन्धलाई थप बलियो बनाउँदै उचाईमा पुर्‍याउने उल्लेख गर्नूएको छ ।