जनता टाइम्स

१० पुष २०७९, आईतवार २२:५१

शेरबहादुरका १० भाइले कांग्रेसलाई डुबाए !


काठमाडौं, १० पुस । सबै मुख्य पदमा ढिपी कसिरहँदा संघीय संसदको सबैभन्दा ठूलो दल कांग्रेस संघ र प्रदेश दुवैतिर सत्ताबाहिर रहने अवस्थामा पुगेको छ। पाँचदलीय गठबन्धनबाट स्पष्ट बहुमत हुँदाहुँदै पनि कांग्रेस सत्ताबाहिर पुगेको हो।

यसको मुख्य कारण पहिलो कार्यकालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाको क्याम्प तयार नरहनु हो।त्यसबाहेक राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखसमेत आफैंले राख्नुपर्ने ढिपी देउवा क्याम्पले नछाडेपछि एमालेको नेतृत्वमा नयाँ समीकरण तयार भएको हो। देउवा निकट स्रोतका अनुसार कांग्रेस सभापति देउवा पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नै थिए। तर, उनी वरिपरिका १० नेताले पहिलो कार्यकालमा प्रचण्डलाई प्रधानमन्त्री नदिने तथा राष्ट्रपति र सभामुख पनि कांग्रेसले नै लिनुपर्ने दबाब तीव्र बनाएपछि देउवा पछाडि हट्नु भएको थियो ।

त्यसरी दबाब सिर्जना गर्ने नेताहरू हुन्, देउवा पत्नी डा। आरजु राणा, कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महत, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति विमलेन्द्र निधि, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वरिष्ठ नेता रामचन्द्र पौडेल, बालकृष्ण खाँण, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदद्वय चन्दा चौधरी र ईश्वरी न्यौपाने। गत शनिबारको बालुवाटारमा आरजुले चन्दा चौधरीमार्फत बोलाएको सांसदहरूको भेलामा देउवाले पहिलो कार्यकाल माओवादी अध्यक्ष प्रचण्डलाई कुनै हालतमा सत्ता हस्तान्तरण गर्न नहुने भन्दै दबाब सिर्जना गराएका थिए। यसबीचमा कांग्रेसको पदाधिकारी बैठक बसेको छैन। स्रोतका अनुसार पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई सत्ता गठबन्धनको छलफलको जानकारीसम्म दिइएको थिएन।