जनता टाइम्स

१२ पुष २०७९, मंगलवार १८:१०

सन्दीप लामिछाने बलात्कार प्रकरण : किशोरीको जन्मदेखि स्वास्थ्य परीक्षण गर्ने डाक्टरसम्म दियो यस्तो आदेश


काठमाडौं, पुस १२ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको भनिएको अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले आज अस्पतालबाटै किशोरीको जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको हो ।

क्रिकेटर लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार जिल्ला अदालत काठमाडौंले आज तीनवटा आदेश दिएको छ । अदालतको आदेशमा किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट रेकर्डको कागजात झिकाउने आदेश गरेको हो ।

किशोरीको जन्म हुँदा उनीहरू वीरगञ्जमा रहेको र त्यहीँको नारायणी अस्पतालमा किशोरीको जन्म भएको दावी गरिएको छ । सन्दीप पक्षका वकिलका अनुसार किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको थियो । त्यहाँ किशोरीको आमाको नाम उल्लेख गरिएको र छोरीको जन्म भएको भनेर उल्लेख गरिएको सन्दीप पक्षका वकिलले दावी गरेका छन ।

यस्तै आदेशमा किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउने आदेश भएको छ । जाहेरीपछि किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरले पनि अब बकपत्रका लागि काठमाडौं जिल्ला अदालतमा आउनुपर्नेछ ।

यस्तै किशोरी र सन्दीप लामिछाने दुवैका साथी भनिएका क्रिकेटर देव खनाललाई पनि बुझ्ने आदेश भएको छ । अधिवक्ता घिमिरेका अनुसार मंगलबारको सुनुवाइपछि यी तीन वटा विषयमा बुझ्ने आदेश भएको हो । किशोरीको जाहेरीकै आधारमा सन्दिप अहिले अदालतको आदेशअनुसार पूपक्र्षका लागि थुनामा रहेका छन ।