जनता टाइम्स

१२ पुष २०७९, मंगलवार १८:३३

माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो


विराटनगर, १२ पुस । नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित हुनुभएको छ । माओवादीबाट दलको नेता चयन भएका आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हो । प्रदेशमा सबैभन्दा लामो समय मन्त्री बनेको अनुभव उहाँसँग छ ।

पूर्वमुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा उहाँले एउटै मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । दलको नेतामा सांसद (प्रदेशसभा सदस्य) दुर्गाप्रसाद चापागाईं पनि दाबेदार हुनुहुन्थ्यो ।

माओवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र कार्की ‘नवीन’ले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको जानकारी दिनुभयो । आङ्बो यसअघि पनि माओवादीको संसदीय दलका नेता हुनुहुन्थ्यो । मंसिर ४ गतेको निर्वाचनबाट उहाँ पाँचथरको ‘ख’बाट दोस्रोपटक निर्वाचित हुनुभएको हो ।