जनता टाइम्स

१४ पुष २०७९, बिहीबार १६:०५

एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन : खतिवडा


काठमाडौं, १४ पुस । एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपहासचिव जगन्नाथ खतिवडाले कुनै पनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि नबढेको स्पष्ट पार्नुभएको छ । एमालेसँग पार्टी एकता हुन लागेको चर्चा चलिरहेका बेला बिहीबार एक वक्तव्य जारी गर्दै उहाँले कुनै पनि पार्टीसँग एकता प्रक्रिया अघि नबढेको बताउनुभएको हो ।

‘बजार हल्लाको भ्रममा नपरौँ । हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी कुनै पार्टीसँग एकीकरण गर्ने गरी अगाडि बढेको छैन,’ उहाँले भन्नुभयो,‘कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन ।’

पार्टीले सुद्धृढीकरणको योजना बनाइरहेको र पार्टी विस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर विचार विमर्श चलिरहेको बताउनुभएको उहाँले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरु आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय भइनसकेको उहाँले जानकारी दिनुभयो ।