जनता टाइम्स

१४ पुष २०७९, बिहीबार २०:०४

नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न भोली विहान निर्वाचन, ३ जनाबीच प्रतिस्पर्धा


विराटनगर, १४ पुस । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा पुस १५ गते भोली बिहान ९ बजे मतदान हुने भएको हो । संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

जसमा प्रदेश १ का आन्तरिक तथा कानुन मन्त्री समेत रहेका केदार कार्की, नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले उम्मेदवारी दिनुभएको छ । दलको नेतामा आकाङ्क्षी देखिएका भीम प्रसाद पराजुलीले थापालाई समर्थन गर्नुभएको हो ।

थापा र पराजुली कृष्णप्रसाद सिटौला पक्षका नेता हो । थापाको प्रस्तावका पराजुली र समर्थकमा भूपेन्द्र राई रहनुभएको छ । संस्थापन पक्षका अर्याललाई डोल्मा तामाङले प्रस्ताव गरेकी छिन् भने समर्थकमा सुनिता कुमारी गुरुङ रहनुभएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहनुभएको कार्की डाक्टर शेखर कोइराला समूहको हुनुहुन्छ ।

उहाँको प्रस्तावक रामकुमार खत्री र समर्थक शमशेर राई हुनुहुन्छ । सहमतिको अन्तिम प्रयास भए पनि अहिलेसम्म सहमति हुन नसकेको एक नेताले जानकारी दिनुभयो । उहाँले सहमति जुट्न नसके भोली बिहान ९ बजे मतदान हुने जानकारी दिनुभयो । कांग्रेस प्रदेश १ मा २९ जना सदस्यले मतदान गर्न पाउने छन् ।