जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार १४:२३

सरुवा बढुवाका लागि नेताहरूको घर-घरमा नजान गृहमन्त्रीको प्रहरीलाई निर्देशन


काठमाडौं, १५ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घर–घरमा नजाने प्रहरीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा आज निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा बढुका लागि नेताहरुको घर–घरमा नजान निर्देशन दिनुभएको हो ।

उहाँले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचारण देखाउन निर्देशन दिनुभएको हो ।  ‘उपप्रधान तथा गृहमन्त्रीज्यू आज प्रहरी प्रधान कार्यालयमा निरीक्षणका लागि आउनु भएको थियो,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भन्नुभयो,‘प्रहरीको सरुवा बढुका कानुन र विधिसम्मत् हुने गृहमन्त्रीज्यूले बताउनुभयो ।’

कानुन र विधिसम्मत् प्रहरीले गर्ने कार्यमा मन्त्रालयको सहयोग रहने र कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री लामिछानेले बताएका प्रवक्ता राईले जानकारी दिनुभयो । कामको शिलशिलाबाहेक राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका अधिकारीसँग विभागीय अनुमतिबिना नभेट्न प्रहरीलाई निर्देशन दिएको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा पुग्नुभएको हो ।