काठमाडौं, पुस १५ । अपाङ्गता भएका शिक्षकहरुले स्थायी शिक्षकको पदस्थापनामा आफूलाई प्राथमिकता दिनुपर्ने माग गर्नुभएको छ । विगतमा पदस्थापना गर्दा पहिलो प्राथमिकता अपाङ्गता भएका शिक्षक, महिला शिक्षक र त्यसपछि मात्र योग्यताक्रम सूचीलाई स्थान दिने गरिएको भएपनि यसमा गरिएको संशोधनले आफूहरूलाई समस्या पारेको नेत्रहीन युवा संघ नेपालमा आवद्ध अपाङ्गता शिक्षकहरुले गुनासो गर्नुभएको छ ।
नेत्रहीन युवा संघ नेपाल र शिक्षा पत्रकार समाजले आज काठमाडौंको राजधानीमा आयोजना गरेको अन्तरक्रियामा नेत्रहीन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले योग्यताक्रम सूचीबाट पदस्थापन सुरु गर्दा अपाङ्गता भएका शिक्षकलाई विद्यालय छनोट गर्न समस्या भएको बताउनुभयो ।
आफूहरु निकै अपायक र न्युनतम पूर्वाधार समेत नभएको विद्यालयमा पुग्दा अध्यापनमा समेत समस्या भएको उहाँको भनाइ छ । सरकारले विगतमा शिक्षकको पदस्थापन गर्दा पहिलो प्राथमिकता अपाङ्गता भएका शिक्षकलाई दिएपनि पछिल्लो पटक पदस्थापना मापदण्ड बनाएर योग्यताक्रमलाई पहिलो प्राथमिकता दिने नीति बनाएको थियो ।
पाल्पाको श्री मडण्ली माध्यमिक विद्यालयका शिक्षक सिर्जना ढकालले निकै टाढाको विद्यालयमा जानुपर्ने, विद्यालयहरु अपाङ्गतामैत्री नहुँदा आफूहरुले समस्या भोगेको गुनासो गर्नुभयो । तत्काल यसको समाधान गर्न उहाँले सरकारसित माग गर्नुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाका अधिकृत नारद धमलाले अपाङ्गता भएका शिक्षकको समस्याका बारेमा सरकरा जानकार रहेको उल्लेख गर्दै पदस्थापना सम्बन्धी मापदण्ड सच्याएर मात्र समस्याको समाधान गर्न सकिने विचार व्यक्त गर्नुभयो । सार्वजनिक विद्यालयमा हाल छ सयभन्दा बढी अपाङ्गता भएका शिक्षक कार्यरत रहेका छन् । कार्यक्रममा अपाङ्गता ुभएका शिक्षकहरू, पत्रकार, बुदिजीविलगायत ४० भन्दा बढीको सहभागिता रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्