जनता टाइम्स

१६ पुष २०७९, शनिबार ०६:२८

७० वर्षे बिर्खबहादुरको काठमाडौं हेर्ने धोको


मुगु,१६ पुस । उमेरले ७० वर्ष कटे। तर अहिले सम्म नेपालकै राजधानी काठमाडौँ पुग्नु भएको छैन। उहाँलाई काठमाडौँ हेर्ने असाध्यै ठुलो रहर छ। तर मुगु जिल्लाबाट सहज छैन काठमाडौँ पुग्न । मृत्यु भन्दा अगाडी कम्तीमा नेपालको राजधानी हेर्ने रहर छ मुगु जिल्लाका ७० वर्षीय बिर्खबहादुर बुर्थबालाई। आफू सँग कुनै सिप नहुँदा काठमाडौँ सहित देशका मुख्य सहरमा पुग्ने सपना ७० वर्षसम्म अधुरै रहेको उहाँको बुझाई छ।

२००८ साल चैत १६ गते मुगु जिल्लाको खच्याड गाउँपालिका को पैसेरी भन्ने स्थानमा जन्मेनुभएका बिर्खबहादुरलाई खेती किसानीलेनै आफ्नो ठाउँ छाडेर अन्त घुम्न जाने फुर्सद हुँदैन । २० हल गोरु लाग्ने जमिन आफ्नो भएकाले बाहिर गुम्न जान सक्ने अवस्था नआएको उहाँको भनाई छ। उसो त मुगु जिल्ला विकट मात्रै छैन गरिबी र अशिक्षा पनि उत्तिकै छ।

मुगु जिल्लाको रारा ताल नजिकै भेटिनुभएका बुर्थबहादुरले आफू काठमाडौँ जान नपाए पनि काठमाडौँ सहित विभिन्न स्थानबाट रारा अवलोकनमा जाने पर्यटकलाई भेट्ने र देख्ने गर्नुभएको छ । अरुको जिल्लामा रेलको बाटो पुग्दै छ रे भन्छन् गीतमा भनेझैँ हाम्रो तिर यही रारा आउने राजमार्गबाहेक अन्यत्र गाडी जाने अवस्था छैन उहाँले भन्नुभयो ।

पाँच छोरा र पाँच छोरी सहित दश सन्तानका पिता बन्नुभएका बिर्खबहादुरका केही छोरा काठमाण्डौमा पनि बस्न थाल्नुभएको छ । छोराहरू काठमाडौँ बस्न थालेपछि भने बुढेसकालमै भए पनि काठमाडौँ हेर्न पाइनेमा उहाँ विश्वस्त हुनुहुन्छ । नागरिकबाट