बुटवल, १६ पुस । पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गर्नुभएको छ । तर उहाँले को–को परिचालित थिए भनेर खुलाउनुभएन । बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा आज आयोजित उहाँले यस्तो बताउनुभएको हो ।
आफूलाई हराउन विभिन्न शक्ति लागे पनि यसबारे आफूले कुनै टिप्पणी नगर्ने खाणले बताउनुभयो । ‘गत निर्वाचनमा मेरो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय/अन्तराष्ट्रिय शक्तिहरु मलाई हराउन सक्रिय भए, यसबारे कुनै टिप्पणी गर्नु छैन,’ उहाँले भन्नुभयो । उहाँले वर्तमान सत्ता फेरबदलमा काँग्रेस कहाँनिर चुक्यो भन्ने कुराको समीक्षा हुने पनि बताउनुभयो ।
‘राजनीतिक पार्टीहरुका लागि सत्ता फेरबदल स्वाभाविक प्रक्रिया हो, यसलाई कांग्रेसले अन्यथा लिँदैन । तर कसरी काँग्रेस प्रतिकूल अवस्थामा पुग्यो भन्ने कुराको भने समीक्षा गर्नुपर्छ,’ उहाँले थप्नुभयो ।
उहाँले कहिलेकाँही नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, काँग्रेसको प्रभावकारिताका लागि पार्टीभित्र एकता गरौभन्दा आफू आलोचित हुनुपरेको गुनासो गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका सभापति युवराज गिरीले देशको राजनीतिक परिवर्तनमा नेपाली काँग्रेस पार्टी र विपिको योगदानबारे स्मरण गर्दै वैभवशाली समाज निर्माणमा योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले राष्ट्रिय एकता र मेलमिलाप एक सिक्काको दुई पाटा भएको भन्दै यसलाई सन्तुलित ढंगले अगाडि बढाउन सके मात्रै पार्टी, राजनीति र देश सफल हुने बताउनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले विपिको दूरदर्शिता र मेलमिलापकै कारण सबैजसो राजनीतिक परिवर्तन सफल भएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्