जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार १०:२९

अख्तियार प्रमुख नवीन घिमिरेको नाममा सुसाइड नोट लेखेर मालपोत कर्मचारीले गरे आत्महत्या


उदयपुर, साउन २७ । उदयपुर घर भएका पूर्वकर्मचारीले आइतबार आत्महत्या गरेका छन् । भ्रष्टचार मुद्दा लागि निलम्बनमा परेका उदयपुरका हरि आचार्यले आत्महत्या गरेका हुन् । आचार्यले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेखेको फेला परेको छ। उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्य मालपोत कार्यालय कलकींमा कार्यरत रहँदा भ्रष्टचार मुद्दा लागेपछि निलम्बनमा परेका थिए । मृत्युअघि उनले लेखेको दुई पाना सुसाइड नोट प्रहरीले फेला पारेको हो ।

‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी भएँ’ उनले सुसाइडनोटमा लेखेका छन, ‘प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाडौंले सहयोग गर्नू,’ सुसाइड नोटमा लेखिएको छ ।

उनले सुसाइड नोटमा घरपरिवारलाई पनि सन्देश दिएका छन् उनी उनले लेखेका छन्, ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ ।’

‘ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु, उनले थप लेखेका छन् ‘कान्छो छोराको व्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । भनी बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ ।’

उनले परिवारका सदस्यहरुको पनि नाम किटेर काम अह्राएका छन । लेखेका छन्, वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठन उदयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले सुसाइड नोटमा लेखेका छन,  ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू ।’

उनी साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका थिए । त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा आचार्य फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

आचार्य शनिबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको विषयमा काठमाडौं गई फर्किएका थिए । मालपोत कार्यालय कलकीं रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनीमाथि आरोप छ । उनलेसुसाइड नोटमा अदालतबाट मुद्दा खारेजी भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको उल्लेख गरेका छन ।