जनता टाइम्स

१८ पुष २०७९, सोमबार १८:३०

मलेसियामा २७ नेपाली कामदारलाई कम्पनीले बनायो बन्धक, उद्धारका लागि आग्रह


काठमाडौं, १८ पुस । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर (२३ भदौ)मा मलेसिया पुग्नुभएको उहाँहरु अलपत्र परेका हुन् । म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताउनुभयो ।

हन्टेयर्स चिकेन डोल्स भन्ने सप्लायर्समा काम गर्नेगरी लाख रुपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरुसँग पैसा असुले पनि अहिले शारीरिक र मानसिक यातना दिँदा पनि म्यानपावर र एजेन्टले कुनै सहयोग नगरेको पीडितहरुको सामूहिक खिचिएको भिडियोमा भनिएको छ । ‘आएको एक हप्तादेखि नै कम्पनी मालिकले गालीगलौजसहित कुटपिट गरेको,’ बाबुराम बास्तोलाले भन्नुभयो, ‘सुरुमा पारिवारिक कारणले सहँदै र गएको र एजेन्टलाई जानकारी गराउँदै गयौँ । तर, शारीरिक र मानिस यातना दिने काम रोकिएको छैन ।’

एजेन्टले आफूलाई सहयोग नगरेको र बाटोमै कम्पनी मालिकले आफूहरुमाथि कुटपिट गरेको भिडियोमा बास्तोलाले बताउनुभएको छ । उहाँहरुलाई खान बस्न र सुत्ने स्थानकोसमेत प्रवन्ध नभएको भिडियोमा देखाउनुभएको छ । आफूहरुलाई उद्धार गरेर सहयोग गर्न उहाँहरुले आग्रह गर्नुभएको छ । कम्पनीबाट बाहिर निकाली दिएको उहाँहरुले गुनासो गर्नुभएको हो । ‘कम्पनीको गेटबाट बाहिर निकालिदिएको छ । चाइनिज एजेन्टले गाडीमा हालेर अन्कन्टार ठाउँमा बन्द कोठामा थुनिदिएको छ । धुलैधुलो भुइँ भएको कोठामा थुनिदिएको छ,’ पीडित बाबुराम बास्तोलाले भन्नुभयो,‘हामीलाई उद्धार गरिदिनुहोस् ।’