काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको जानकारी दिनुभयो ।
पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गर्नुभएको थियो। पुस ११ मा उहाँले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गर्नुभएको थियो ।
विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार पहिलो चरणमा सोमबार प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गर्नुभएको हो । केही सचिव र विभागका प्रमुखले अझै आ–आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गर्नुभएको थियो । उहाँहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्