जनता टाइम्स

१९ पुष २०७९, मंगलवार १८:३२

भक्तपुरलाई सुरक्षित बनाउन दैनिक रुपमा गस्ती गरिरहेका छौँ : एसपी केसी


भक्तपुर, १९ पुस । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले सुरक्षित भक्तपुरका लागि दैनिक गस्ती टोली खटाइरहेको बताउनुभएको छ । परिसरले आज परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा भक्तपुरलाई सुरक्षित सहरको रुपमा स्थापित गर्न दैनिक गस्ती टोली खटाएको बताउनुभयो ।

परिसरका एसपी केसीले भक्तपुरलाई सुरक्षित स्थानको रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको बताउनुभयो । परिणामस्वरु अहिले भक्तपुरमा लुटपाटको घटनामा कमी आएको दाबी गर्नुभयो । ‘पहिला रातको समयमा बाटोमा हिड्दा मोबाइल, पैसा लुटिने घटना धेरै आउँथे । अब त्यस्ता घटना निकै कम छन्,’ उहाँले भन्नुभयो ।

विशेष गरेर रातको समयमा ठाउँ–ठाउँमा गस्ती प्रहरी टोली खटाएको उहाँको भनाइ छ । टोलीलाई प्रभावकारी रुपमा काम गराउन टोली प्रमुखले निगरानी गर्ने गरिरहेको उहाँले जनाउनुभयो । कार्यक्रममा परिसरका सूचना अधिकृत राजु पाण्डेले भक्तपुरमा लागुऔषध दुर्व्यसनकर्ता पक्राउको संख्यामा पनि कमी आएको बताउनुभयो ।

लागूऔषध प्रयोगकर्ता बस्ने क्षेत्रमा निगरानी गरी त्यहाँं उनीहरूलाई बस्नै नदिएकोले यस्तो घटनामा कमी आएको उहाँले बताउनुभयो । विशेष गरेर हनुमानघाट, राम मन्दिरलगायतका स्थान तथा रातको समयमा अलि सुनसान र अध्यारो हुने सार्वजनिक पाटीमा विशेष निगरानी गरेर त्यस्ता क्षेत्रमा मानिसको जमघट नै नगराइएको उहाँले जनाउनुभयो ।