काठमाडौं, पुस २० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै पदाधिकारीहरुका कारण आफूले ठूलो तनाव बेहोर्नुपरेको खुलासा गर्नुभएको छ ।
पोलिटब्यूरो बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा नेपालले यस्तो तवानको खुलासा गर्नुभएको हो । बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार माधवले बैठकमा बोल्ने क्रममा आफ्नो अनुहारमै तनाव झल्किएको भन्दै रामकुमारी झाँक्रीप्रति निकै कडा आक्रोश पोख्नुभएको छ । नेपालले बैठकमा ‘यताकै मान्छेले म भन्दा राम्रो नेता केपी ओली भन्ने ? नेता त केपी ओली जस्तै भन्ने ?’भन्दै आक्रोश पोख्नुभएको थियो ।
माधवको यो आक्रोश एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीप्रति लक्षित थियो । झाँक्रीले केही दिनअघि एक टेलिभिजन अन्तवार्तामा माधव नेपाल कच्चा खेलाडी रहेको प्रमाणित भएको भन्दै नेता त केपी ओली जस्तै हुनुपर्ने आफ्नो निश्कर्ष सुनाउनु भएको थियो ।
‘केपी कमरेडको जस्तो सोच्ने क्षमता माधव नेपालमा भएको भए त कहाँ यस्तो छेउमा परिन्छ त ? बीचमा परिदैन भनेको ? यो मामिलामा त केपी कमरेडले यत्ति स्ट्याटेजिक कदम चाल्नु भयो कि उहाँको टीमकै धेरै सदस्यलाई थाह थिएन होला । लिडसिप त यस्तै हुनुपर्छ क्या ! ’ झाँक्रीको भनाई थियो, ‘शनिवार दिनभरी गाली गर्नुभएको छ, आइतवार प्रधानमन्त्री बनाइ दिनुभयो । यो हो नि त लिडरसिप भनेको ।’
पढनोस यो समाचार
माधव नेपाल सारै कच्चा रहेछन, लिडरसिप त केपी ओली जस्तै हुनुपर्छ : रामकुमारी झाँक्री (भिडियोसहित)
सचिव झाक्रीको यो भनाईले माधवको निकै चित्त दुखेको पाइएको हो । सोही कारण बैठकमा माधवले आफ्नो नेताको बदख्वाईं गर्ने, अर्काेको नेताको प्रसंसा गर्ने काम बन्द गर्नाेस भन्दै कडकिनु भएको छ ।

‘फेसबुकमा लेख्ने, आफूलाई लागेको कुराहरु बाहिर प्रचारित गर्ने, पार्टीको बदख्वाई बाहिर गर्ने, आफ्नो नेताको बदख्वाई गर्ने, अरुको नेताको प्रसंसा गर्ने अनि हाम्रै स्वर ठूलो हुने । यो कुरा बन्द गर्नाेस,’ नेपालको आक्रोश थियो । यस्तो बोलिरहँदा माधवको अनुहार पनि निकै आक्रोशित देखिएको थियो । उहाँले बोल्दा पनि सम्हालिन नसकेको प्रष्टै भान भएको थियो ।













प्रतिक्रिया दिनुहोस्