जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १०:०५

फेक समाचारको शिकार नेकपा अध्यक्ष प्रचण्ड : आयो सचिवालयको कडा चुनौती (बिज्ञप्तीसहित)


काठमाडौं, साउन २८ । सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डबिरुद्ध नियोजित रुपमा फेक समाचार प्रकाशन गरी बदनाम गराउने प्रयाश भएपछि सचिवालयले कडा प्रतिवाद गरेको छ ।

अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ ले आज बिज्ञप्ती जारी गरी फेक समाचार बनाएर बदनाम गर्नेहरुलाई चुनौती दिनुभएको हो । केही दिन यता पूर्वराजावादीहरुले नियोजित रुपमा अध्यक्ष प्रचण्डको बिरुद्धमा आपत्तिजनक समाचार प्रकाशन गराउँदै आएका छन ।

यस्तो छ बिज्ञप्ती

आदरणीय जनसमुदाय,

यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ । क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् ।

यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन् । दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ । यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो ।

कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं । यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं ।

२८ साउन, २०७६
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष प्रचण्डको निजी सचिवालय