जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ११:१९

अमेरिकी दूतावासले दिएन सन्दीप लामिछानेलाई भिसा, क्यारेबियन लिगमा सहभागिता अनिश्चित


काठमाडौं, साउन २८ । अमेरिकी दूतावासले चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । आगामी २१ अगष्टदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ मा सहभागिताका लागि अमेरिका जान भिसा आवेदन दिएका लामिछानेलाई दुतावासले भिसा दिन अस्वीकार गरेको हो । लामिछानेले ट्वीटमार्फत अमेरिकी दूतावासले आफूलाई भिसा नदिएको जानकारी गराएका हुन ।

लामिछानेका अनुसार आज बिहान महाराजगञ्जमा रहेको अमेरिकी दूतावास पुग्दा अमेरिकाले भिसा दिन अस्वीकार गरेको हो । भिसा नदिएपछि सन्दीपले आफू आश्चर्यमा परेको प्रतिक्रिया दिएका छन् । लामिछानेले आफ्नो ट्वीटमा पीएम नेपाल र युएस एम्बेसी नेपाललाई मेन्सन गरेका छन । यस बिषयमा बुझ्न जनताटाइम्स डटकमले नेपालस्थित अमेरिकी दुतावासमा सम्पर्क गर्दा कोही सम्पर्कमा आउन चाहेनन । अमेरिकाले नेपाली नागरिकमाथि पटक–पटक यस्तो ब्यवहार गर्दै आएको छ ।

क्यारेबियन प्रिमियर लिग खेल्न जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई बार्बाडस ट्राइ डेन्टसले ७० हजार डलरमा आफ्नो टोलीमा अनुबन्ध गराएको थियो । सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए। सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले उल्लेख गरेका छन्।

अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन्। सन्दीपले यसअघि इन्डियन प्रिमियर लिगलगायत संसारभरका प्रतिष्ठित क्रिकेट लिग खेलिसकेका छन्। उनले सिपिएलको गत संस्करण पनि खेलेका थिए।