जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १८:५६

निजगढ विमानस्थल मंसीरमा शिलान्याश हुन्छ, लगानी नजुटे सरकार आफैले बनाउँछ : पर्यटनमन्त्री भट्टराई


काठमाडौं, साउन २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अन्तराष्ट्रिय लगानी नजुटेको खण्डमा निजगढ विमानस्थलको निर्माणमा सरकार आफैले लगानी गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा बोल्दै पर्यटनमन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माण कार्य अगाडि बढाउने बताउनु भएको हो ।

लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफलपछि थप निर्णय लिने जानकारी पनि मन्त्री भट्टराईले दिनुभयो । बैदेशिक लगानी नआए पनि चिन्तित हुनपर्ने अवस्था नरहेको उहाँको भनाई थियो । आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यास गर्ने घोषणा गरिसक्नुभएका मन्त्री भट्टराईले पूर्वतयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना सुनाउनु भयो ।

‘निजगढ विमानस्थल मंसीरमा शिलान्याश हुन्छ, लगानी नजुटे सरकार आफैले बनाउँछ, लगानीको कारणले समस्या आउँदैन,’ मन्त्री भट्टराईका् भनाई थियो । सो अवसरमा मन्त्री भट्टराईले सरकार आफैले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरुले बनाउने जानकारी पनि दिनुभयो । नेपाली प्राविधिकहरु पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने मन्त्री भट्टराईको भनाई थियो ।

निजगढ विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने जानकारी पनि मन्त्री भट्टराईले दिनुभयो । विमानस्थल निर्माण गर्दा रुख काट्नुअघि वृक्षारोपण गर्ने सरकारको तयारी रहेको जानकारीसमेत उहाँले दिनुभयो । निजगढ विमानस्थल निर्माण कार्यमा करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ । रुख काटनुअघि त्यस क्षेत्रमा वृक्षारोपणको कामलाई महत्वका साथ अघि बढाउने मन्त्री भट्टराईको भनाई थियो ।