जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार ०७:४१

नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटन मिति तय : प्रधानमन्त्री ओली र मोदीले यसरी गर्दैछन उदघाटन


काठमाडौं, साउन २९ । बहुचर्चित पेट्रोलियम पाइपलाइनको उद्घाटन हाइटेक प्रविधिमार्फत हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्तरूपमा हाइटेक प्रविधिमार्फत उक्त पाइपलाइनको उद्घाटन गर्नुहुनेछ । पाइप ओछ्याउने काम शतप्रतिशत सम्पन्न भइसकेको छ।

मन्त्रालयका अनुसार द्विपक्षीय छलफलमार्फत उद्घाटन गर्न हालसम्म दुईवटा मिति निर्धारण भएको छ। भदौ १५ गते र भदौ २४ गते मिति निर्धारण गरिएका्े हो । ती दुईमध्ये एक मितिमा पाइपलाइनको उदघाटन हुनेछ । उद्घाटनपश्चात यो पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुनेछ। पाइपलाइन उद्घाटन गर्नुहुनेछ । उदघाट्नका बेला भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद र नेपालका प्रधानमन्त्री ओलीले एकै समयमा रिमोट थिच्नुहुनेछ। त्यो रिमोटको सेन्सरले कम्प्युटरको सेन्सरले समात्नेछ। यसरी कम्प्युटरले सेन्सरको सहयोगमा मोदीको रिमोट थिचाइले अमलेखगञ्जस्थित डिपोको युनिटको भल्व खुल्नेछ। यसपछि ओलीको रिमोट थिचाइले उक्त डिपोमा इन्धन खसालिनेछ।

यो प्रविधिको प्रयोगसम्बन्धी जानकारी मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपो (आईओसी), अमलेखगञ्जको डिपोसहित हैदरावादस्थित मोदीको निबास र काठमाडौंको बालुवाटारस्थित ओलीको निबासमा जडान गरिएको विशेष प्रकारको भिडियो कन्फरेन्समार्फत एक अर्कालाई जानकारी दिइनेछ। उदघाट्नसँगै पहिलो चरणमा पाइपलाइनमार्फत अमलेखगञ्जको डिपोमा डिजेल खसालिनेछ। नेपाल आयल निगमको अमलेखगञ्जस्थित क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवका अनुसार पाइपलाइनको काम सम्पन्न भए पनि अबको १५ दिनभित्रमा अन्तिम रूप दिन लागिएको छ। ‘

यादवका अनुसार यो पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगञ्जको डिपोमा खसालिनेछ। पेट्रोल र मट्टीतेलको भण्डारण गर्ने थप डिपो तयार नभएकाले करिब दुई वर्षसम्म पाइपलाइनबाट डिजेलमात्रै आपूर्ति हुनेछ। डिपो तयार भएपछि पेट्रोल र मट्टीतेल पनि आपूर्ति गरिनेछ। पाइपलाइनबाट आउने डिजेल भण्डारण गर्न अहिले तीन हजार नौ सय किलोलिटरको दुई र चार हजार तीन सय किलोलिटरको दुई डिपो अद्यावधिक गरिसकिएको छ।

उनका अनुसार आईओसीले बरौनी–पटनासम्म आएको पाइपलाइनलाई मोतिहारीसम्म ल्याएको छ। नेपालमा ओछ्याइएको पाइपलाइनलाई यही मोतिहारीको पाइपलाइनमा जोडिएको हो। मोतिहारीबाट रक्सौलको इन्डो–नेपाल सीमासम्म ३२.८० किलोमिटर र इन्डो–नेपाल सीमादेखि अमलेखगन्जस्थित क्षेत्रीय डिपोसम्म ३६.२८ किलोमिटर खण्डमा पाइपलाइन ओछ्याइएको हो।

यसअघि रक्सौलस्थित भारतीय डिपोबाट पाइपलाइन विस्तार गर्ने योजना थियो। तर, भारतीय सरकारले वातावरणीय प्रदूषण र उच्च जोखिम भन्दै रक्सौलबाट डिपो हटाउने निर्णय गरेपछि मोतिहारीको पाइपलाइनमा अमलेखगञ्जको पाइपलाइन जोडिएको हो। पाइपलाइनबाट भित्र्याइने इन्धनका विषयमा भने आईओसी र निगमबीचको सम्झौता प्रत्येक ५–५ वर्षमा नवीकरण गर्ने व्यवस्था गरिएको छ।

पाइपलाइनबाट इन्धन आएपछि सबैभन्दा ठूलो उपलब्धि निर्धारित समयमा इन्धनको सुनिश्चितता हुनेछ। सडकमार्गमा जस्तो सुकै अवरोध सिर्जना भए पनि पाइपलाइनमार्फत इन्धन मगाउन कुनै पनि प्रकारको अवरोध सिर्जना हुन्न्। करिब ७० प्रतिशत इन्धन बरौनीस्थित आईओसीको डिपोबाट रक्सौल नाका हुँदै अमलेखगञ्जको डिपोसम्म हाल भित्र्याइन्छ। निगमअनुसार दैनिक चार हजार किलोलिटरभन्दा बढी इन्धन यो नाकामार्फत भित्र्याइन्छ। यसका लागि दैनिक करिब दुई सयदेखि तीन सयको संख्यामा ट्यांकरको प्रयोग हुन्छ।