जनता टाइम्स

२९ पुस २०७९, शुक्रबार २१:३६

क्यानडा जान नेपालबाट सजिलो हुने भन्दै १ पाकिस्तानी नेपाल बोलाएर अपहरण गरेपछि….


काठमाडौं, २९ पुस ।  अपहरण तथा शरीर बन्धक गरी फिरौती रकम लिने ३ जना पाकिस्तानी नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको छ । पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई पाकिस्तानबाट भिजिट भिसामा नेपाल झिकार्ई अपहरण गरी बन्धक बनाउँदै फिरौती लिने निज पाकिस्तानीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीका लागि क्यानडा जान नेपालबाट सजिलो हुने काठमाडौंमा नै पूरा हुने भन्दै पाकिस्तानबाट नागरिक बोलाएका थिए । पक्राउ पर्नेहरुमा पाकिस्तान कसुर घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैन छन् ।खानलाई नेपाल बोलाएर ठमेलस्थित एक होटलमा बस्न लगाई बायोमेट्रिकलगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी पुस २४ गते (आइतबार) दिउँसो साढे २ बजे बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्‍याई आँखामा पट्टी बाँधी हातखुट्टामा प्लास्टिकको डोरीले बाँधी बोल्न कराउन नदिई बन्धक बनाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

पीडित खानलाई बन्धक बनाएर राखी पाकिस्तानमा रहेका पीडितका भाइलाई ‘अब मेरो क्यानडाका लागि फ्लाइट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएर ३० घण्टापछि पुनः म क्यानडा पुगें, इमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाएपछि पीडितको भाइले पाकिस्तानबाट ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार यूएई दिरामसमेत गरी जम्मा नेपाली २५ लाख ६६ हजार ६९७ रुपैयाँ फिरौती रकम बुझाएपछि पीडितलाई दुई दिनपछि (पुस २६ गते राति साढे १० बजे) ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा स्वदेश फर्कनू भनी छाडेर फरार भएको एसपी कोइरालाले बताउनुभयो ।

दुई दिनसम्म अपहरण तथा बन्धक बनाई फिरौती तिरेपछि मात्र छोडेर अलपत्र परेपछि पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएको र कार्यालयबाट काठमाडौं प्रहरी परिसरलगायतको समन्वयमा ती ३ पाकिस्तानी नागरिकलाई पक्राउ गरेको जनाएको छ । उनीहरु तीनै जनालाई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ स्थित भाडाको घरबाट दुई दिनपछि पक्राउ गरेको एसपी कोइरालाले बताउनुभयो । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २११ अपहरण गर्न नहुने र २१२ शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगन्ज पठाएको छ ।