जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार १२:४७

भ्रष्टाचार मुद्धापछि कर्मचारीको रोजाईमा पर्न थाल्यो आत्महत्या : सात जनाको जीवनलीला समाप्त


काठमाडौं, साउन २९ । पछिल्लो पटक उदयपुरका हरिप्रसाद आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई दुई सय बर्ष बाँच्नोस भन्दै आत्महत्या गरे । मालपोत कार्यालयमा कार्यरत रहँदा भएको काम सच्दिासमेत आफूलाई नखाएको बिष लगाइएको भन्दै आचार्यले आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख छ ।

मालपोत कार्यालयमा आचार्यले गरेको काम बदनियतपुर्ण भन्दै अख्तियारले भ्रष्टाचार मुद्धा लगाएपछि आत्महत्या गर्न बाध्य हुनुपरेको खुलासा पनि उनैले सुसाइड नोटमा उल्लेख गरेका छन । आचार्य भन्दा अगाडि ललिता निवासको सार्वजनिक जग्गा ब्यक्तिको नाममा पारिएको बिषयमा अख्तियारले बयानमा बोलाएपछि तात्कालिन मालपोत अधिकृत तथा नेपाली कांग्रेस पर्वतका सचिव रहेका युक्तप्रसाद श्रेष्ठले पनि आत्महत्या गरे । उनले भने सुसाइड नोट लेखेको अहिलेसम्म फेला परेको छैन ।

सपिङ मलबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । यद्यपी श्रेष्ठको आत्महत्या नभई हत्या भएको भन्दै कांग्रेसले संसदमै आवाज उठाइसकेको छ । जे भए पनि उनको जीवनलीला समाप्त भएको छ । श्रेष्ठलाई ललिता निवासको जग्गा ब्यक्तिको नाममा पार्न भुमिका खेलेको अभियोगमा अख्तियारले बयान लिएपछि एकाएक आत्महत्या गरेको प्रहरीको बुझाइ छ ।

भ्रष्टाचारको मुद्धा लागेपछि आत्महत्याको बाटो रोज्ने आचार्य र श्रेष्ठ मात्रै होइनन, अहिलेसम्म उनीहरुसहित सात जना पूर्वकर्मचारीले आत्महत्याको बाटो रोजेका छन । भ्रष्टाचारको आरोप लागेपछि पूर्वसचिव दिनेशचन्द्र प्याकुरेल, नासु केदारनाथ ढुंगाना, प्रेमलाल चौधरी र सानु बन लोडर, रामबहादुर पाण्डे, युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्यले आफ्नो जीवनलीला नै समाप्त पारेका छन ।

पूर्वसचिव प्याकुरेलले अकुत सम्पत्तिमा मुद्धा लागेपछि आत्महत्या गरेका हुन । नासु ढुंगानाले पनि अकुत मुद्धापछि जीवनलीला समाप्त गरे । यस्तै चौधरी र सानु बनले ३३ किलो सुन काण्ड लागेपछि आत्हत्या रोजे । त्रिबि सेवा आयोगका बरिष्ठ अधिकृत पाण्डे र नासु श्रेष्ठले हाम फालेर आत्महत्याको बाटो रोजेका हुन ।

यी हुन आत्महत्या गर्ने कर्मचारी

दिनेशचन्द्र प्याकुरेल पूर्वसचिव (अकुत सम्पत्ति)

केदारनाथ ढुंगाना, नासु (अकुत सम्पत्ति)

प्रेमलाल चौधरी र सानु बन लोडर (३३ किलो सुन)

रामबहादुर पाण्डे, वरिष्ठ अधिकृत, त्रिवि (९ लाई ६९ अंक बनाउने)

युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्य, नासु (ललिता निवास जग्गा प्रकरण)