जनता टाइम्स

३ माघ २०७९, मंगलवार २३:०१

म्यानपावर र रेमिट्यान्स व्यवसायीलाई श्रम मन्त्रालयको चाबी


काठमाडौं, ३ माघ। चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिवद्धतापत्र सार्वजनिक गर्दै रोजगारीका लागि बाध्यतावश देश छाड्नु नपर्ने बताएको थियो । प्रतिवद्धतापत्रमा ३१ वर्षपछि कुनै पनि नेपाली वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य हुनुनपर्ने कल्पना पूरा हुने भनिएको थियो ।तर, यो प्रतिवद्धतापत्र ल्याउने पार्टीका सभापति रवि लामिछानेले म्यानपावर कम्पनी, विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श सेवा (एजुकेसन कन्सल्टेन्सी) का सञ्चालक एवं रेमिट्यान्स व्यवसायीलाई नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा पठाएका छन् ।

रास्वपाले गरेको निर्णयका आधारमा पार्टी उपसभापति समेत रहेका डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भए र मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अर्याल सोझै स्वार्थ बाझिने मन्त्रालयमा मन्त्री बनेर आउनुभएको छ । उहाँ नयाँ बानेश्वरको श्रृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिस प्रालिका अन्तर्राष्ट्रिय बजार निर्देशक हुनुहुन्छ । ओभरसिजको आधिकारिक वेबसाइटका अनुसार यो म्यानपावर कम्पनीको पार्टनरका रूपमा अर्यालकै कम्पनी सुमिरे ट्राभल एन्ड टुर्स पनि छ। श्रृष्टि ओभरसिजका एक सञ्चालकका अनुसार अर्यालले जापानबाट एक परियोजनामार्फत श्रमिक विदेश लैजानका लागि एक एजेन्टसँग सम्पर्क गराउनुभएको थियो । त्यसैमार्फत उहाँले जापानमा ‘जिट्को’मार्फत श्रमिक लैजान समन्वयका लागि काम गर्ने गर्नुभएको छ । सिधै लगानी नभएपनि कम्पनीसँग जोडिएर जापानमा श्रमिक लैजान आर्यालले काम गर्नुभएको छ । कम्पनीको वेबसाइटका अनुसार उहाँ अझै पदीय जिम्मेवारीमा कायम हुनुहुन्छ । पूर्वसचिव शारदाप्रसाद त्रिताल स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आफैं पनि नागरिकताबारेको छानविनमा रहेको अवस्थामै स्वार्थ बाझिने गरी गृहमन्त्री भएको उदहारण दिंदै प्रजातन्त्रिक प्रणालीलाई नै ध्वस्त गराउने गरी यस्तो काम भइरहेको बताउनु हुन्छ ।

‘स्वार्थ बाझिने भएपछि प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गर्दा नै आफ्नो सबै व्यावसायिक जिम्मेवारी छोडिसक्नुपर्ने हो,’ उहाँले भन्नुभयो । म्यानपावर व्यवसायीलाई नियमन गर्ने मन्त्रालयको नेतृत्वमा नै म्यानपावर कम्पनीसँग जोडिएका व्यवसायी पुगेपछि भविष्यमा पीडित श्रमिकले झन् बढी सास्ती भोग्ने अवस्था आउने डर विज्ञहरु बताउँछन् । समानुपातिक पद्धतिबाट सांसद् उहाँ जापान केन्द्रित रेमिट्यान्स कम्पनी इजीलिंक रेमिटका सञ्चालक पनि हुनुुहुन्छ। कम्पनीको वेबसाइटमा उहाँ इजीलिंक रेमिटको निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको उल्लेख छ ।
२०५३ सालमा विद्यार्थी भिसामा जापान जानुएका उहाँ ८ वर्ष त्यहाँको रेस्टुरेन्टमा श्रमिकका रुपमा काम गरेर स्वदेश फर्किनुभएको थियो । त्यसपछि अर्यालले पर्यटनसँगै रेमिट्यान्स व्यवसाय सुरु गर्नुभएको थियो । विदेश जाने विद्यार्थीलाई लक्षित गरेर कन्सल्टेन्सी सुरु गरेका उहाँले योकोहामा जापानिज भाषा केन्द्र, सुमिरे टुर्स एण्ड ट्राभल्स लगायतका व्यवसायमा लगानी गर्नुभएको थियो । धादिङको ज्वालामुखी गाउँपालिका स्थायी घर भएका अर्याल आफूलाई सहकारी अभियन्ताका रुपमा चिनाउने गर्नहुनछ । उहाँ जनसागर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत हुनुभएको यिो । रवि लामिछाने फाउन्डेसनले रास्कोट कम्युनिटी हस्पिटल बनाउने क्रममा रवि लामिछानेसँग जोडिएका उहाँले रास्वपा गठनपछि प्रवास विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको थियो ।