जनता टाइम्स

४ माघ २०७९, बुधबार १६:२३

इन्जा पत्रकारिता अवार्डका लागि आवेदन आह्वान


काठमाडौं, माघ ४ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल ( इञ्जा) पत्रकारिता अवार्ड २०२३ का लागि आवेदनहरु आह्वान गरेको छ । अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जाले हरेक वर्ष एक एक लाख रुपिंया राशीको खोजी पत्रकारिता पुरस्कार, सामुदायिक पत्रकारिता पुरस्कार र विद्वत पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

इञ्जा खोजी पत्रकारिता पुरस्कार र इञ्जा सामुदायिक पुरस्कारका लागि सन २०२२ भरी प्रकाशित वा प्रसारित आफ्नो समाचार र आलेखको एक प्रति समेत संलग्न गरी फेवु्रअरी १ सम्ममा [email protected] मा पठाइदिन इञ्जाले आग्रह गरेको छ ।

लामो समयसम्म विश्ववैंकमा कार्य गरेका विद्वान डा शुकदेव साहको परिवारद्वारा प्रायोजन गरिने इञ्जा विद्वत पत्रकारिता पुरस्कार पत्रकारितामा एमफिल वा पिएचडी गर्दै गरेका विद्यार्थीहरुलाई प्रदान गरिने र यसको छनोट त्रिवि पत्रकारिता तथा आमसञ्चार विभाग समेतको सहभागितामा गठन हुने समितिमार्फत हुने व्यवस्था छ । इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि आफैंले आवेदन गर्न वा अरुले सिफारिश समेत गर्न सक्ने व्यवस्था गरिएको इञ्जाले जनाएको छ ।

इञ्जाले खोजी पत्रकारिता पुरस्कार छनोटका लागि नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष, वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा नेपाल समाचारपत्र दैनिकका समाचार सम्पादक दीपक रिजाल र राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपाने रहेको समिति गठन गरेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि जनता प्रसारण तथा प्रकाशन लिमिटेडका प्रधान सम्पादक, लेखनकुञ्जका सम्पादक, वरिष्ठ पत्रकार टंक पन्तको संयोजकत्वमा पत्रकारद्वय दीपेन्द्र दोङ र दीपु पोखरेल ज्ञवाली रहेको समिति गठन गरेको छ ।

इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जिवी खनालको संयोजकत्वमा सोही विभागका उपप्राध्यापकहरु घमराज लुइटेल र देवराज अर्याल रहेको समिति गठन गरिएको छ । फेबु्रअरी १ सम्ममा प्राप्त आवेदनहरुहरुमाथि छनोट गरी तोकिएका समितिहरुले फेव्रुअरी १५ मा पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गरिनेछ भने मार्च १ मा आयोजना हुने इञ्जा वार्षिकोत्सवको उपलक्ष्यमा ती पुरस्कार वितरण गरिने छ ।

इञ्जा खोजी पत्रकारिता पुरस्कारवाट अहिलेसम्ममा पत्रकारहरु अजयवावु सिवाकोटी, टपेन्द्र कार्की, सुशिल पन्त र गजेन्द्र वुढाथोकी पुरस्कृत भइसक्नुभएको छ भने इञ्जा ग्रामीण पत्रकारिता पुरस्कारवाट पत्रकारहरु मेनुका ढुंगाना, प्रकाश सिंह , दीपा कर्ण एवं सरोज ढुंगाना पुरस्कृत भैसक्नुभएको छ ।

इञ्जा विद्वत पत्रकारिता पुरस्कारवाट यसअघि वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिवि पत्रकारिता विभागका उपप्राध्यापक देवराज अर्याल पुरस्कृत भैसक्नुभएको छ ।