जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार १८:१८

बायुसेवा निगमकै कर्मचारी सुन तस्करीको धन्दामा


काठमाडौं, साउन २९ । नेपाल वायुसेवा निगमका कर्मचारी नै सुन तस्करीमा संलग्न रहेको तथ्य बाहिर आएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अवैध सुनसहित निगमका कर्मचारी कमलनारायण विश्वासलाई पक्राउ गरेसँगै तस्करीको तथ्य सार्वजनिक भएको हो ।
भन्सार कार्यालयका एक अधिकृतका अनुसार गत साउन २२ गते मलेसियन एयरको एमएच ०१७० को उडानमार्फत क्वालालाम्पुरबाट काठमाडौं आएका विश्वासले आफ्नो साथमा २०० ग्राम (करिब १७ तोला) अवैध सुन ल्याएका थिए । विश्वासले ५० ग्रामका ४ वटा सुनका बाला हातमा लगाएर ल्याएका थिए भने ११ लाख ९० हजार रुपैयाँ पर्ने सुनका बाला पनि साथमा ल्याएका थिए ।

एउटा बाला देखिने गरी र बाँकी ३ वटा बाला कपडाले छोपिने गरी लगाएको अवस्थामा भन्सारले विश्वासलाई नियन्त्रणमा लिएको थियो । भन्सारले विश्वासलाई नियन्त्रणमा लिएर थप कारबाही अघि बढाएको छ । भन्सार प्रशासनले अनुसन्धानको क्रममा विश्वाससँग ३ दिन बयान लिएको थियो । बयान र अनुसन्धानले विश्वास यसअघि पनि सुनको अबैध कारोवारमा संलग्न रहेको पाइएको छ । विश्वास निगमको ग्राउन्ड अपरेटरको रुपमा कार्यरत छन ।