जनता टाइम्स

८ माघ २०७९, आईतवार ०८:१८

खुम्बुमा चिसोले पानी जम्न थाल्यो


सोलुखुम्बु, ८ माघ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ । खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन् । अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र रहेका १७ विद्यालयमध्ये १४ विद्यालय बन्द रहेको जनाइएको छ ।

यसपटक हिउँ नपरे पनि उच्च हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि खुम्बुवासीको दैनिकी कष्टकर बनेको स्थानीय तोया श्रेष्ठको भनाइ छ । चिसो बढेसँगै सो क्षेत्रको तापक्रमसमेत घटेर माइनस १० डिग्रीसेल्सियससम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो ।

सोलुमा ६५ जनाले लिए अङ्गीकृत नागरिकता

पछिल्लो दुई दशकयता सोलुखुम्बुमा ६५ महिलाले अङ्गीकृत नागरिकता लिएका छन् । विसं २०५८ देखि हालसम्म ६५ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अङ्गीकृत नागरिकता लिनेमा ४९ भारतीय र १६ चिनियाँ रहेको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताउनुभयो । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई विवाह दर्ता गर्नेबित्तिकै नेपाली नागरिक हुने कानुनी व्यवस्था छ ।

नेपालको संविधानको धारा मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने व्यवस्था छ । यस्तै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्षको नौ महिनामा दुई हजार चार सय आठ थान नेपाली नागरिकता वितरण गरेको छ । यसमा चार सय ५० जनाले प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताउनुभयो । सोही अवधिमा जिल्लामा चार महिलाले नागरिकताबाट पतिको नाम हटाएका छन् । उनीहरुले सम्बन्धविच्छेदपछि नागरिकताबाट पतिको नाम हटाएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।