जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार १२:२८

एकतालाई पुर्णता दिन नेकपाको सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद बैठक स्थगित


काठमाडौं, साउन ३० । पार्टी एकताको बाँकी कामलाई पूर्णता दिन सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ३ बजे बस्ने बैठकले एकताको बाँकी काम टुंगो लगाउने कार्यसुची तय गरिएको छ ।

दुई पटकसम्म स्थगित भएको नेकपाको सचिवालय बैठक आज निश्कर्षमा पुग्ने गरी बस्न लागेको सचिवालयका एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय, बभिाग र बिशेष कमिटीको निर्णय हुने गरी एजेण्डा तय गरिएको छ ।

गत साउन १३ गतेपति नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । साउन २८ गते बस्ने निर्णय भएपनि नेताहरुबीच सहमति जुटन नसक्दा दुई पटक स्थगित भइसकेको छ । हिजो र अस्ती बैठक स्थगित भएपछि पार्टी स्कूल बिभागसँगै युवा र बिद्यार्थीको इञ्चार्ज कसलाई बनाउने भन्ने सहमति पूर्वएमाले नेताहरुमै जुटन सकेको छैन । खासगरी केही युवा नेताको नाम किटान गरेर केही नेताले मान्दै मान्दिन भनेर निहुँ खोजेपछि सहमति जुटन नसकेको हो । यद्यपी अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमाले नेताहरुसँग छलफल गरी सहमतिका साथ अघि बढाउने अन्तिम प्रयाश गर्नुभएको छ ।

आजको बैठकबाट ठोश निश्कर्ष दिने गरी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्ड लाग्नुभएको सचिवालयका एक नेताले जनताटाइम्सलाई बताए । पार्टी एकता भएको १५ महिना पुग्न लाग्दा पनि नेकपाको साँगठानिक एकताले पुर्णता पाउन नसक्दा कार्यकर्तामा निरासा मात्रै छाएको छैन, नेकपाका नेता कार्यकर्ता जनतासँगको सम्बन्धबाट कसौं टाढा पुगेका छन । तीन महिनामा टुंगो लगाउने भनिएको एकताको मिति पर धकेलिएसँगै शीर्ष नेताहरु नै बार्गेनिङमा उत्रिएका छन । आफू र आफू निकटलाई मात्रै पदको भारी बोकाएरआफू बलियो भएको महसुस गर्न शीर्ष नेता लागेपछि कार्यकर्ता तहमै नेताहरुप्रति असन्तुष्टि सुरु भएको छ । एकता पर धकेल्ने काम शीर्ष नेताबाटै भइरहेको भन्दै आलोचनासमेत सुरु भएको छ ।

यी सवै बिषयमा जानकार रहेका अध्यक्षद्वय ओली र प्रचण्ड आजको बैठक निर्णायक बनाउन चाहिरहनुभएको छ । सोही योजनाअनुसार आज ४ बजे बोलाइएको मिन्त्रपरिषद बैठक स्थगित भएको छ । ‘पार्टीको बैठकबाट एकताको काम टुंग्याउने योजनाका साथ मन्त्रिपरिषद बैठक स्थगित गरिएको छ, प्रधानमन्त्री एकताको बिषयमा निकै गम्भीर बन्नुभएको छ, सायद आज निर्णय होला कि,’ सचिवालयका एक नेताले जनताटाइम्ससँग भने ।

नेकपाको एकताले पुर्णता नपाएकै कारण गत जेठ २ गते भएको सचिवालयको निर्णयसमेत कार्यान्वयनमा आएको छैन । सचिवालयले गरेको निर्णय अपानिमार्फत नआउँदा सचिवालय सदस्य बामदेव गौतम संयोजक रहनुभएको किसान महासंघबाहेक कुनै पनि जनसंगठनले आफ्नो साँगठानिक काम अघि बढाउन सकेका छैनन । सर्वसम्मत रुपमा सिफारिश गरिएको जनसंगठनको केन्द्रीय समितिको आकारसमेत घटाएर पठाएपछि जनसंगठनले काम गर्न नसकेका हुन ।