जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार १२:५२

सडकमा सञ्जालमा जोडियो पर्यटकीय बस्ती घोडेपानी


म्याग्दी, साउन ३० । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानी सडक सञ्जालमा जोडिएको छ । असार, साउनको झरी, बादल नभनी सडक निर्माण भएपछि अब घोडेपानीसम्मै मोटर चढेर पुग्न सकिने भएको हो । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा चित्रेदेखि घोडेपानी जोड्ने सडकको ट्र्याक खुलेको हो ।

प्रदेशको रु ३२ लाख ७० हजार र अन्नपूर्ण गाउँपालिकाको रु १५ लाखको लागतमा पाँच किलोमिटर सडकको ट्र्याक ९मार्ग० निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालयले रु ५३ लाख ४० हजार लागत अनुमान गरे पनि जनश्रमदानसहित रु ३६ लाख ३८ हजारमा लक्षित सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले बताउनुभयो । “प्राविधिकको लागत इष्टिमेटभन्दा धेरै–थोरै बिलमा सडक निर्माण गरेका छौँ”, पुनले भन्नुभयो, “इष्टिमेटभन्दा झण्डै रु १८ लाख कम खर्चमा सडक निर्माण भयो । बचेको पैसा बिल बनाएर राखेनौँ, प्रदेश सरकारको खातामै फिर्ता गरेका छौँ ।”

सात मिटर फराकिलो सडकमा बर्खा सकिएलगत्तै मर्मत गरेर सवारी सञ्चालन गरिने वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । कताबाट सडक लैजाने भन्ने विषयमा स्थानीयवासीको विवादका कारण अघिल्लो आर्थिक वर्षमा काम हुन सकेको थिएन । आव २०७५÷७६ मा घोडेपानी र चित्रेका बासिन्दाबीच सहमति जुटेपछि सडक निर्माण भएको हो । घोडेपानीका बासिन्दाका साथै पर्यटकलाई आवतजावत, ढुवानी र निकासीमा सहज हुने अपेक्षा गरिएको छ । बर्खामा खनिएको सडक सामान्य मर्मतपछि सहजरूपमा सवारीसाधन सञ्चालन गर्न सकिने पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर रविन चोखालले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रेसम्म यसअघिनै सडक निर्माण भएको थियो । चित्रेदेखि घोडेपानीमा ढुवानीका लागि घोडा, खच्चड र भरियामा निर्भर हुनुपर्ने थियो । दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानीमा बढी खर्च हुन्थ्यो । समाजको आवश्यकताले पर्यटकीय पदमार्गलाई असर नपुग्ने र नमासिने गरी सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । घोडेपानीदेखि पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा पर्ने नयाँ पुललाई सडकले जोड्ने योजना छ ।

कास्की तर्फबाट म्याग्दीको सिमानामा पर्ने वनठाटी नजिकैको बस्ती उल्लेरीसम्म सडक निर्माण भइसकेको छ । “दुई जिल्ला जोड्ने सडक यस क्षेत्रको लाइफलाइन पनि बन्न सक्छ”, अध्यक्ष पुनले भन्नुभयो । उल्लेरीदेखि घोडेपानीको दूरी करीब १५ किलोमिटर छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित आयोजना सञ्चालन गरेको छ । पोखरेबगरदेखि दुरबिनडाँडा घार हुँदै शिखसम्म सडक फराकिलो बनाइएको छ ।

घोडेपानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा अवस्थित घोडेपानी पुनहिल र घान्द्रुक जाने आउने पदमार्गको केन्द्र हो । घोडेपानीदेखि ४० मिनेट उकालो हिँडेपछि पुगिने पुनहिल सूर्योदय, हिमशृङ्खला, गुरासे जङ्गलको दृश्य अवलोकनका लागि प्रसिद्ध छ । रासस