जनता टाइम्स

११ माघ २०७९, बुधबार १९:००

ओलीको जन्मदिनमा ‘केपी ओली कप’ फुटबल प्रतियोगिता आयोजना गर्दै युवा संघ, एन्फाले दियो अनुमति


काठमाडौं, माघ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा फूटबल प्रतियोगिता हुनेभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ’केपी ओली रनिङ कप ओपन नेश्नल च्याम्पियनसिप’ फुटबल प्रतियोगिता हुने भएको हो ।

एमाले जनसंगठन राष्ट्रिय युवा संघ नेपालले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितालाई अनुमति दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । ’युवा संघले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको थियो। त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो। त्यसलाई हामी स्वागत नै गर्छौं,’ महासचिव राईले भन्नुभयो ।

युवा संघले भर्खरै सम्पन्न सचिवालय बैठकले अध्यक्ष ओलीको जन्मदिनको अवसर पारेर केपी ओली कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । बैठकले प्रतियोगिता सञ्चालनका लागि महासचिव क्षितिज थेवेको संयोजकत्वमा समिति गठन गरेको छ । संयोजक थेवेका अनुसार सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने छ । प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ पुरस्कार दिइनेछ ।

प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुनेछन । अहिले दशरथ रंगशाला ए डिभिजन लिगका लागि मर्मत गर्ने काम भइरहेकाले केपी ओली कपका खेलहरू अन्य काठमाडौंकै अन्य मैदानमा हुने एन्फाले जनाएको छ ।

प्रतियोगिताको सम्पूर्ण आयोजना युवा संघले गर्ने र त्यसमा एन्फाले केही सामग्री र प्राविधिक सहयोग गर्ने छ । प्रतियोगिताका संयोजक थेवेले आफ्नो संस्थापक अध्यक्षसमेत रहनुभएका राजनेता ओलीको जन्मदिन बिशेष रुपमा मनाउने योजनासहित प्रतियोगिताको आयोजना गर्ने निर्णयमा युवा संघ पुगेको बताउनु भयो ।

‘केपी ओलीले देशका लागि गर्नुभएको योगदानलाई आधार मानेर यस्तो निर्णय भएको हो,’ महासचिव थेवेले जनताटाइम्स डटकमसँग भन्नुभयो ।