जनता टाइम्स

१२ माघ २०७९, बिहीबार ०७:१६

क्यान कार्यसमिति निलम्बन गर्नुपर्ने राखेप छानबिन समितिको निश्कर्ष


काठमाडौं, माघ १२ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल टी–२० लिगबारे छानबिन गर्न गठन गरेको छानबिन समितिले नेपाल क्रिकेट संघ (क्यान) कार्यसमिति विघटनसम्मको कारबाही गर्न सुझाव दिएको छ ।

समितिले बुधबार राखेप सदस्यसचिव टंकलाल घिसिङसामू प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो । प्रतिवेदनमा नेपाल क्रिकेट संघले विदेशी कम्पनी वा संस्थालाई आफ्नो साझेदार बनाउनुअघि नियामक निकायसँग सहमति लिएको नदेखिएका कारण कारबाहीको सिफारिस पनि गरेको छ ।

गत पुस ९ देखि २७ सम्म त्रिवि मैदानमा आयोजित नेपाल टी–२० लिग नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा सट्टेबाजी, सम्भावित फिक्सिङ, श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाइएको तथा खेलाडीले पारिश्रमिक नपाएका विषयमा धेरै प्रश्न उठ्न थालेपछि राखेपले पुस २१ गते कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले क्रिकेट र नेपाल टी–२० लिगसँग सम्बन्धित २० जनाभन्दा बढी व्यक्तिसँग बयान लिएपछि प्रतिवेदन तयार पारेको हो ।

खेलकुद ऐनको दफा २८ (ट)मा कुनै विदेशी संघ संस्थासँग खेलकुदसम्बन्धी विषयमा समझदारी गर्दा मन्त्रालयको सहमति लिनुपर्ने उल्लेख छ । सोही आधारमा क्यानमाथि खेलकुद विकास ऐनको दफा २९ आकर्षित हुने छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सो दफा २८ अनुसारको व्यवस्था पालना नगर्ने खेल संघले निश्चित अवधिका लागि निलम्वन, कार्यसमिति भंग गर्नेदेखि राखेपबाट संघको दर्ता खारेजीसम्मको कारबाही ब्यहोर्नुपर्नेछ ।

क्यानले नेपाल टी–२० लिगका लागि विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग प्रतियोगिता सञ्चालन अधिकारसहित व्यावसायिक र रणनीतिक साझेदारका रुपमा सम्झौता गरेको थियो । यो सम्झौताका लागि गत वर्ष धनगढीमा भएको क्यान साधारणसभाबाट अनुमति लिइएको थियो । प्रतियोगिताको सञ्चालन अधिकार पाएको कम्पनी सेभेन थ्रीका मालिक जतिन अहुवालिया र सीईओ अभिशेक सक्लानी प्रतियोगिताका क्रममा भएको स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्न रहेको तथ्य प्रहरीले सार्वजनिक गरिसकेको छ ।

क्यानको साझेदार विदेशी संस्था नै बेटिङ र फिक्सिङमा संग्लग्न भएको प्रमाणित भएको भोलिपल्ट राखेपको छानबिन समितिले त्यो संस्थासँग सम्झौता गर्ने नेपाल क्रिकेट संघलाई कारबाही गर्नुपर्ने प्रतिवेदन सार्वजनिक गरेको हो । राखेपको छानबिन समितिले सेभेन थ्री स्पोर्टससँगको सम्झौता तत्काल खारेज गर्न पनि सुझाएको छ ।