बाँके, १२ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राख्नुभयो ।
‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनुपर्छ, पारदर्शी हुनुपर्छ,’ उहाँले भन्नुभयो,‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाइ ल्याउने अवस्थामा पुगाउनुपर्छ। त्यसपछिमात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ ।’
उहाँले अब कांग्रेस सत्ताको खेलमा लाग्न नहुने उहाँको तर्क छ । उहाँले केही दिन पहिले संसद भवन अगाडि एक जनाले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताउनुभयो । उहाँले नयाँ आएका दलहरूप्रति पनि युवाको आसा मर्दै गएको टिप्पणी गर्नुभयो ।
मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको बताउनुभयो । ‘नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन । उनीहरूका सुरुवाती स्टेपहरू नै विवादास्पद र निराशाजनक देखिएका छन् । यो अवस्था देशका लागि सुखद होइन,’ उहाँले भन्नुभयो । उहाँले अहिलेको सरकार त झनै तासको महल जस्तो भएको बताउनुभयो ।
‘अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन्। उनीहरूबीच आफैँमा लडाइ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन। आफैँबीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफैँ ढल्नेछ,’ महरले भन्नुभयो,‘त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन्। पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ ।’
राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताएको बताउँदै अहिले अस्थिर तत्त्वले त्यसको गलत व्याख्या गर्न खोजेको आरोप लगाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्