जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार १९:३०

पर्यटनमन्त्री भट्टराईको घोषणा : अव बारीको पाटा देख्ने बित्तिकै विमानस्थल बनाउने काम बन्द हुन्छ


काठमाडौं, साउन ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्री भट्टराईले सरकारले बारीको पाटा देख्ने बित्तिकै विमानस्थल बनाउने काम बन्द गर्ने घोषणा गर्नुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयल बवरमहलमा आज आयोजित कार्यक्रममा एभिएसन सेफ्टी रिर्पोट २०१९ सार्वजनिक गर्दै पर्यटनमन्त्री भट्टराईले सो भनाई राख्नुभएको हो ।

‘अव सरकारले बारीको पाटा देख्ने बित्तिकै विमानस्थल बनाउने काम बन्द गर्छ, विमानस्थल विस्तारमा भन्दा भएको विमानस्थलको स्तरोन्नतिमा सरकारको ध्यान जान्छ,’ मन्त्री भट्टराईले भन्नुभयो । उहाँले आवश्यकता र ब्यापारको आधारमा मात्रै बिमानस्थल बनाउने बताउनु भयो । ‘विमानस्थल बनाउनै परेको अवस्थामा आवश्यकता र विजनेसलाई पनि हेरिन्छ,’ पर्यटनमन्त्री भट्टराईले भन्नुभयो ।

नेपालमा निर्माण भइसकेका ५० भन्दा बढी विमानस्थल र बन्दै गरेको विमानस्थल नै पर्याप्त रहेको उहाँको भनाई छ । उहाँले सांसद वा दलका नेताको दवावका कारण मात्रै बिमानस्थल बनाउन नसकिने बताउनु भयो । ‘राजनीति गर्ने नेताले जनताको समक्ष जाँदा विमानस्थल निर्माणको प्रतिबद्धता गर्नुपर्ने बाध्यता पनि छ, तर, प्रतिबद्धता सबै लागू हुँदैन। यसलाई फुर्सदका समयमा सोचेर निर्णय लिने काम गरिन्छ,’ मन्त्री भट्टराईले भन्नुभयो ।

पर्यटनमन्त्री भट्टराईले युरोपियन युनियन (इयू) ले नेपाली वायुसेवा कम्पनीहरूको वायुयान युरोपको आकाश लगाएको उडान प्रतिबन्धको जवाफ दिनुपर्ने बताउनु भयो । ‘नेपाली वायुसेवा कम्पनीका वायुयानले युरोपको आकाशमा उडान गर्न नपाउने गरी इयूले लगाएको प्रतिबन्ध ५ वर्ष भइसकेको छ, हामीले इयूले भनेको सबै कुरा पुरा गरिसकेको छौं, अब इयूले हामीलाई किन प्रतिबन्ध फुकुवा नगरेको हो, त्यसको जवाफ दिनुपर्छ, बिना आधार लगाएको प्रतिबन्धको औचित्य पनि प्रमाणित हुन पर्छ,’ पर्यटनमन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले नेपालले हवाई सुरक्षालाई संवेदनशील क्षेत्रका रूपमा राख्दै काम गरिरहेको र आगामी दिनमा झनै सुधार पनि गर्ने लैजाने धारणा पनि राख्नुभयो । ‘हवाई उडानमा मौसम र भूगोलको क्षेत्रमा हुने कमजोरीलाई केही छुट हुन्छ । तर, मानवीय कमजोरीलाई क्षमा दिने काम हुँदैन । नेपालमा भएका विमान दुर्घटनामा पनि बढी मानवीय कमजोरी हुने गरेको छ,’ भट्टराईको भनाई थियो । हवाई क्षेत्र संवेदनशील भएका कारण यसमा कुनै पनि संझौता नहुने घोषणा पनि उहाँले गर्नुभयो ।

कार्यक्रममा मन्त्री बायुसेवा कम्पनीलाई इन्धनको मूल्य र विदेशीसँग लिने भाडाको विषयमा समेत सहमतिमा निर्णय गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले समेत हवाईं दुर्घटनामा मानवीय कमजोरी बढेको भन्दै त्यसमा क्षमा नहुने बताउनुभयो । ‘वायुसेवा कम्पनीमा कार्यरत पाइलटले छिटोछिटो कम्पनी परिर्वतन गर्ने गरेको छन, जसका कारण पाइलटका कमजोरीका कारण हुने हवाई दुर्घटना पनि बढी छ,’ पोखरेलको भनाई थियो ।