जनता टाइम्स

१४ माघ २०७९, शनिबार ०६:५५

काठमाडौँका सडक खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत


काठमाडौं, १४ माघ । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार सडकसँग सम्बन्धित आठ निकायको संयुक्त बैठकमा सो जानकारी गराइएको हो।

बैठकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सडकसम्बन्धी निकायहरूले एकीकृत स्वरूपमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने बताउँदै उहाँले एकले अर्कोलाई दोष दिएरभन्दा जनताले राम्रो सेवा पाउने गरी काम गर्न नै यस प्रकारको बैठकको आयोजना गरिएको बताउनुभयो। विकास निर्माणका काम गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन०, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्य, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुखहरू सहभागी रहेको सो बैठकमा मन्त्री श्रेष्ठले एउटै ठाउँमा काम गर्ने निकायहरूले एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सडकसँग सम्बन्धित निकायले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्छ भन्नुभयो।

प्राधिकरणले बत्ती बालेर जनता खुसी भए पनि उसका संरचनाका कारण सडकमा समस्या आएको भनी गुनासो आइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो। काठमाडौँ उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वय गरी सडक सुधार गर्न सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका इन्जिनियर डा। विजय जैसीको संयोजकत्वमा आठ सदस्यीय स्थायी संयन्त्र गठन गरिएको छ।

सो संयन्त्रमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड रहेका छन्।

त्यसैगरी बैठकले तिनकुनेस्थित बाग्मती पुल र बिजुली बजारस्थित धोबीखोलाको पुलमुनिबाट कोरिडोर सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल विद्युत् प्राधिकरणबाट सञ्चालित आयोजनाहरूको निर्माण स्थलमा प्राधिकरण र सडक विभागबीच भएको समझदारीअनुसार क्षति पुगेको खण्डमा अस्थायी वा स्थायी खण्डको पुनस्र्थापना गर्ने पनि निर्णय भएको छ।