जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार ११:२४

ढकाल निवासमा बम प्रकरण : घटनाको सुक्ष्म अध्ययन गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन


बुटवल, साउन ३१

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका प्रदेश सचेतक भुमिश्वर ढकालको निवास पुग्नु भएको छ । गएराति ढकालको निवासमा तीन जनाको समूहमा आएका अज्ञात समूहले पाँचवटा पेट्रोल बम प्रहार गरेका थिए ।

नेकपाका प्रदेश –५ सचेतक ढकालको निवासको मुख्यमन्त्री पोखरेललगायत प्रदेशका मन्त्रीहरुले निरीक्षण गर्नुभएको हो । बम प्रहार पछि सचेतक ढकालले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीको पछाडीको भाग पूर्णरुपमा क्षति भएको छ। निरिक्षण पछि मुख्यमन्त्रीपोखरेलले घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनु भएको छ । मुख्यमन्त्री पोखरेलले घटनाको छानबिनका लागि कुनै कसुर नराख्ने भन्दै परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने बताउनु भयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले घटनामा संलग्नको खोजबिन गरेर कानुनी दायरामा ल्याइने बताउनु भयो । अपराधपुर्ण काम सह्य नहुने भन्दै उहाले सांसदहरुले सुरक्षाको प्रत्याभूति गर्न सक्ने वातावरणको निर्माण गर्न जरुरी रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले घटनालाई कायरताको संज्ञा दिंदै छानबिन हुने बताउनु भयो ।

जिल्ला प्रहरी प्रमुख एसपी हृदय थापासहितको प्रहरीको टोलीले राति नै घटनास्थल पुगेर निरीक्षण गरेको थियो। त्यसक्रममा प्रहरीले पेट्रोल र मट्टीतेल भरिएका बम फालिएको तर विस्फोट नभएको अवस्थामा फेला परेका थिए । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताएको छ।

शुक्रबार बिहान प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहित सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, संसदीय समितिका सभापति दधिराम न्यौपाने, डाक्टर कृष्ण न्यौपाने, कांग्रेस सचेतक निर्मला क्षेत्री, सांसद कमला विश्वकर्मा, तारा जिसी, प्रमूख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल, डिआइजी, एसपी, डिएसपीलगायतको टोलीले घटनास्थलको निरीक्षण गर्नुभएको थियो ।