जनता टाइम्स

१६ माघ २०७९, सोमबार ०७:३२

‘केयरगिभर’को प्रक्रिया पुनरवलोकन हुने


काठमाडौं, १६ माघ । इजरायलमा काम गर्ने सहायक श्रमिक ९केयरगिभर०को छनोट प्रक्रियालाई पुनरवलोकन गरिने भएको छ । यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरवलोकन गर्ने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपालका लागि इजरायली राजदूतसँग भएको पटकपटकको छलफलमा सबै प्रक्रिया पुनरवलोकनको विषय उठेको हो ।

विभागअन्तर्गतको इजरायलरजापान शाखाका निर्देशक डम्बरबहादुर सुनुवारले इजरायलमा नेपाली केयरगिभर लैजाने कार्य ढिलो भएकाले यसलाई सुधार गरेपछि मात्रै नयाँ मागसम्बन्धी काम गर्न प्रस्ताव इजायली पक्षसँग गरिएको जानकारी दिनुभयो । हालको प्रक्रियाले श्रमिकलाई आर्थिक रूपमा मर्का परेकाले अब नयाँ आउने मागमा यस्तो नहोस् भनेर अहिलेदेखि नै पुनरवलोकनको प्रस्ताव गरिएको उहाँको भनाइ छ ।

२०७८ साउन १२ गते आएको मागका लागि छनोट भएका व्यक्ति अझै इजरायल जान बाँकी छन् । इजरायल जानका लागि यसअघि नै छनोट भएमध्ये ६४ जना बाँकी रहेको उहाँले बताउनुभयो ।

विभागका अनुसार छनोट भएकामध्ये ५० जनाको ‘लेबर कन्ट्रयाक्ट’ आउन बाँकी छ भने १४ जनाको भिसा आउन बाँकी छ । यसअघि छनोटमा परेका एक हजार १७५ जनामध्ये एक हजार २१ जना इजरायल गइसकेका छन् । थप १८ जाने प्रक्रिया गरिरहेका छन् भने ८० जनाले भिसा रद्द गरेका थिए ।

अहिले इजरायलका तर्फबाट भएको ढिलाइ र त्यसको क्षति नेपाली श्रमिकले बेहोर्नु परेकाले छिटोछरितो छनोट गर्ने प्रक्रियामा जानुपर्छ भनेर श्रम मन्त्रालय र विभागले इजरायल पक्षलाई यसअघि नै दबाब दिँदै आएको थियो ।

माग ढिला आउँदा छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षणमा असाध्यै झमेला भएको भन्दै निर्देशक सुनुवारले भन्नुभयो, “एक पटक स्वास्थ्य परीक्षण गरेको तीन महिनाभित्र प्रस्थान गर्नुपर्छ अन्यथा ‘एक्सपायर’ हुन्छ । छनोट भएकाहरू तीन पटक स्वास्थ्य परीक्षण गरेर बसेका छन् ।”

उहाँले केयरगिभरका रूपमा गएका नेपाली श्रमिकको कामप्रतिको निष्ठा र व्यवहार अत्यन्तै रुचाइएका कारण कृषि र निर्माणको क्षेत्रमा नेपालबाटै श्रमिक लिन इजरायल आतुर देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार इजरायली पक्षसँग इजरायलमा कृषि र निर्माणतर्फ के कस्ता सीप भएका के कति सङ्ख्या लैजाने भन्ने विषय स्पष्ट मोडालिटी पेस गर्नसमेत अनुरोध गरेका छौँ । त्यो प्राप्त हुनासाथ त्यसलाई तीव्रताका साथ अगाडि बढाउने योजना विभागका रहेको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते इजरायलका दीर्घकालीन सुसारे ९केयरगिभर०का लागि नेपाली सहायक श्रमिक पठाउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको थियो । यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जीटुजी मोडलबाट भएको थियो । इजरायल रोजगारीमा जानेहरूले एक वर्षको करार अवधिका लागि जाने भए पनि पाँच वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् ।