जनता टाइम्स

१६ माघ २०७९, सोमबार ०८:४१

भूकम्पको हल्लाले जुम्ला र मुगुका नागरिक रातभर सडकमा


जुम्ला, माघ १६ ।  जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् । जुम्ला सदरमुकामका केही बासिन्दाहरु घर बाहिर निस्केर आगो तापेर बसेका छन् ।

प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दु: पाएका बताउनुभयो ।

उहाँले यस्तो भ्रामक हल्ला फैलाउनेलाई कारबाही हुने बताउनु भएको छ । यस्तै, भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा यस्ता हल्लाको पछि नलाग्न पनि उहाँको आग्रह छ ।

‘भूकम्प आउँदै छ भन्ने हल्लाका कारण जिल्ला प्रशासन कार्यालयमा समेत फोन आइरहेको छ’ उहाँले भन्नुभयो – ‘रातभर फोन आएर हैरान भएको छ, यसरी अनावश्यक हल्ला चलाएर दुस्ख दिनेलाई कारबाही हुन्छ, हल्ला फैलाउनेको खोजी भइरहेको छ । ’

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले पनि हल्ला फैलाउने व्यक्तिको खोजी भइरहेको बताउनु भएको छ ।

गएको मङ्गलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो । यो भूकम्प पछि पश्चिमी क्षेत्रका नागरिक त्रासमा छन् ।