जनता टाइम्स

१७ माघ २०७९, मंगलवार ०७:३७

आचार्यको आत्मदाह प्रकरणमा भाटभटेनीका गुरुङसँग लियो प्रहरीले बयान


काठमाडौं, १७ माघ । काठमाडौँको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि गत मङ्गलबार आफैँलाई पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधनको घटनामा प्रहरीले भाटभटेनी सुपर मार्केट्स सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएको छ ।

आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमा लेखेको लामो सन्देशमा भाटभटेनीका सञ्चालक गुरुङले उधारोमा सामान लिने र बक्यौता रकम तिर्न आनाकानी गर्ने तथा ३० प्रतिशतसम्म मार्जिन मागेको उल्लेख गर्नुभएको थियो । त्यसै आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले गुरुङसँग सोधपुछ गरेको हो । परिसर प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले उक्त घटनासँग जोडिएका विभिन्न व्यक्तिसँग सोधपुछ तथा बयान लिनेक्रम जारी रहेको बताउनुभयो । सरकारले सो घटनामा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

इलामको सूर्योदय नगरपालिकानिवासी ३७ वर्षीय आचार्यको निधनपछि उहाँकी श्रीमतीले आर्थिक कारोबारमा जोडिएका व्यक्ति तथा व्यापारिक संस्थाका सञ्चालकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरीसमेत दिनुभएको छ । परिसर स्रोतका अनुसार हालसम्म कम्तीमा १२ जनाविरुद्ध किटानी जाहेरी परेको पहिलो चरणमा भाटभटेनी सुपर मार्केट्सका सञ्चालक गुरुङसँग बयान लिइएको हो । गुरुङसँगको बयान प्रहरीले लिखित रूपमा समेत लिएको जनाएको छ ।

सोधपुछका लागि बोलाइएपछि गुरुङ सोमबार दिउँसो १२स्३० बजे जिल्ला प्रहरी परिसर काठमाडौँ पुग्नुभएको थियो । झन्डै दुई घण्टा ४५ मिनेट लामो सोधपुछ तथा बयानपछि उहाँ सवा तीन बजे प्रहरी परिसर टेकुबाट बाहिरिनुभएको थियो । गुरुङमाथि प्रहरीले आचार्यसँग भएका आर्थिक कारोबार र पत्रमार्फत लगाएको आरोपबारे विस्तृत सोधपुछ गरेको थियो ।

गुरुङपछि किटानी जाहेरी परेका अन्य व्यक्तिसँग पनि क्रमशः सोधपुछ गर्ने र बयान लिने तयारी भइरहेको प्रहरीले जनाएको छ । बयानसँगै आचार्यसँग गरिएका कारोबार तथा बैङ्किङ लेनदेनका कागजसमेत अध्ययन सुरु गरिएको छ ।

आर्थिक कारोबारमा अस्वस्थ प्रतिस्पर्धाबाट व्यावसायिक तथा आर्थिक अवस्था अत्यन्तै जीर्ण भएको भन्दै उहाँले नयाँ बानेश्वरको बीचसडकमा आत्मदाह गर्नुभएको थियो । शरीर जलेर गम्भीर घाइते हुनुभएका आचार्यलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पु(याएका थिए । उपचारक्रममा उहाँको बुधबार बिहान निधन भएको थियो ।