जनता टाइम्स

१८ माघ २०७९, बुधबार ०७:२४

एघार वर्षपछि बल्ल पार्कमा स्थापित गरियो बाङ्देलको सालिक


खोटाङ, १८ माघ । कलाकार एवं साहित्यकार लैनसिंह बाङ्देलको सालिक खोटाङमा ११ वर्षसम्म बेवारिसे बनेर बल्ल पार्कमा राखिएको छ। जिल्ला सदरमुकाममा राख्ने भनेर निर्माण गरिएको सालिक विभिन्न विवादका कारण अलपत्र परेको थियो।

एघार वर्षसम्म बेवारिसे बनेको सालिक ऐसेँलुखर्क गाउँपालिका–१, राखाबाँदेलको शुक्रबारेडाँडा, बेनेसेनमा पार्क बनाएर राखिएको छ। राखाबाँदेल कलाकार बाङ्देलको पुख्र्यौली थलो हो। वडा कार्यालयबाट दुई लाख रुपियाँ विनियोजन गरेर घेराबारासहितको लैनसिंह बाङ्देल पार्क निर्माण गरेर उहाँको सालिकलाई व्यवस्थित रूपमा राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिनुभयो।

जिल्लाको सार्वजनिक स्थलमा राख्ने गरी मोरङ बेलबारीका मूर्तिकार श्याम गौतमले बाङ्देलको सालिक बनाएर २०६७ सालमा तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गर्नुभएको थियो। दिक्तेलमा पसल तथा होटलको पेटीमा अपमानित तरिकाले पाँचरछ वर्ष राखिएको बाङ्देलको सालिक २०७३ सालमा तत्कालीन गाविसबाट ढुवानी खर्च छुट्याएर ट्याक्टरमा बोकेर राखाबाँदेल लगिएको थियो।

दिक्तेलसम्म सालिक पु(याउने क्रममा तत्कालिन जिल्ला विकास समितिले गौतमलाई ३० हजार रुपियाँ भाडा दिएको थियो। त्योबेला जिविस र जिल्लास्थित राजनीतिक दलका नेताले दिक्तेलको रत्नपार्क आसपासमा बाङ्देलको प्रतिमा राख्ने निर्णय गरेका थिए तर निर्णय कार्यान्वयनमा कसैले चासो नदिँदा सालिक दिक्तेल बजारमा वर्षौंसम्म सडक पेटीमा प्लाष्टिकले छोपेर बेवारिसे अवस्थामा राखिएको थियो। सो सालिक दिक्तेलको हाटडाँडा, रत्नपार्क, जिल्ला समन्वय समितिको प्राङ्गण, हुर्लुङ, जालपालगायतका ठाउँमा राख्नका लागि छलफल भए पनि ठोस काम हुन नसकेको राखाबाँदेलका अगमसिं राई बताउनुहुन्छ।

लैनसिंहको नाममा राखाबाँदेलमा लैनसिं बाङ्देल मार्ग बनिसकेको छ। आर्थिक वर्ष २०७५र७६ मा प्रदेश १ सरकारले स्थानीय सरकारलाई उपलब्ध गराएको ससर्त अनुदानबाट रावाखोला ढुङ्गे–बादुस्को–राखाबाँदेल सोरसु–बाहानेपोखरी–सिब्दु जोड्ने लैनसिंह बाङ्देल मार्ग निर्माण गरिएको हो।