जनता टाइम्स

१८ माघ २०७९, बुधबार १४:३६

देशमा क्रिश्चियानिटी बढेको भन्दै कानुन बनाएर रोक्न संसदमा माग


काठमाडौं, १८ माघ । नेकपा एमालेका सांसद रघुजी पन्तले देशमा जबरजस्ती क्रिश्चियानिटीको घटना बढेको भन्दै रोक्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोलेका पन्तले जबरजस्ती धर्म परिर्वतन गराएर देशलाई क्रिश्चियानिटी बनाउन खोजेकाले यसलाई रोक्नुपर्ने माग गर्नुभएको हो ।

जबरजस्ती धर्म परिवर्तन रोक्न अहिलेको कानुन पर्याप्त नभए कानुन बनाएर भए पनि रोक्नुपर्ने बताउनुभएको उहाँले कुनै पनि धर्म र जातका विषयमा हुने विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै सांसद पन्तले संसद बैठकमा प्रधानमन्त्री र प्रमुख मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संसदको बैठकको सुरुमा प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा बताउनुभएको हो । सांसदहरुले बैठकमा उठाएका विषयलाई सरकारले सुन्नुपर्ने उहाँको माग छ ।