मोरङ, १९ माघ । प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वदलीय सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयको जिम्मेवारी पाउने बताउनुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नुभएको थियो ।
तर, उहाँको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त हुनुभयो । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन् । गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका बेला अध्यक्ष ओलीको उक्त धारणा सार्वजनिक भएको हो ।
यद्यपि, उहाँले लामिछानेलाई गृहमन्त्रीमा शपथ गराउन प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभएको थियो । ओली र लामिछाने दुवैको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आउनुभएको छ । यही पेरिफेरिमा आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले रास्वपाबाटै गृहमन्त्री हुने बताउनुभएको हो ।
रास्वपाले गृहमन्त्रीमा लामिछानेलाई पठाएमा अरुले आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताउनुभएको अध्यक्ष ओलीले भावी राष्ट्रपति एमालेबाटै हुने दाबी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्